स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार तालमेल हुन्छः वरिष्ठ नेता पौडेल

  चैत १९, २०७८

चितवन, चैत १९ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा ठाउँ र आवश्यकताअनुसार तालमेल हुने बताउनुभएको छ ।आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले वडा र पालिकाका विषयमा राष्ट्रिय राजनीतिमा भर नपर्ने बताउनुभयो ।

“ठाउँ र आवश्यकताअनुसार तालमेल हुन्छ”, उहाँले भन्नुभयो, “तालमेलका क्रममा राष्ट्रिय आवश्यकता के हो भन्ने विषयमा ध्यान दिइन्छ ।” वरिष्ठ नेता पौडेलले सबै परिस्थितिको मूल्याङ्कन गरेर पठाउन, जिल्ला, प्रदेश, क्षेत्र र पालिकालाई भनिएको छ भन्दै केन्द्रको सबै निर्णय लाद्ने पक्षमा कांग्रेस नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “केन्द्रबाट सबै निर्णय लादिँदैन । यस्तो नीति कांग्रेसको छैन ।” अहिलेको राष्ट्रिय आवश्यकता परिवर्तनमाथि भएको प्रहार र प्रतिगमनको विरुद्धमा रहेको उल्लेख गर्दै उहाँले यसलाई जोगाउनुपर्नेमा जोड दिनुभयो । वरिष्ठ नेता पौडेलले गठबन्धन प्रतिगमनबाट जोगाउन र परिवर्तनको रक्षाका लागि भएको स्पष्ट पार्दै ७० वर्षको उपलब्धि रक्षाका लागि गठबन्धन गर्नु परेको बताउनुभयो ।

अहिलेको गठबन्धन कडा र नरम नभएको भन्दै उहाँले तालमेलको विषयमा प्रारम्भिक छलफलहरु भइरहेको बताउनुभयो । वरिष्ठ नेता पौडेलले अहिले नै कस्ले कहाँ छोड्ने भन्ने विषयमा टुङ्गो नलागेको उल्लेख गर्दै छलफलबाट सबै कुराको टुङ्गो लाग्नेछ भन्नुभयो ।

फरक प्रसङ्गमा बोल्दै उहाँले कांग्रेसका कार्यकर्ताहरुलाई निराशा हुनुपर्ने अवस्था नरहेको बताउनुभयो । “निरास हुनुपर्ने अवस्था छैन । रूखलाई छोड्ने कुरै छैन”, उहाँले भन्नुभयो, “चितवनका साथीहरु समझदार हुनुहुन्छ ।”

तपाईको प्रतिक्रिया