काठमाडौं, चैत १३ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक सुरु भएको छ। एमालेको पोलिट्ब्यूरो, केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयको कार्यान्वयन सम्बन्धमा स्थायी कमिटी बैठकमा छलफल हुँदैछ ।
चिनियाँ विदेशमन्त्री वाङ यी सँगको भेटमा भएको कुराकानीबारे ब्रिफिङ गर्नुहुँदै पार्टी अध्यक्ष केपी ओलीले स्थायी कमिटीको बैठक प्रारम्भ गर्नुभएको हो। पार्टीको तर्फबाट विदेशमन्त्री वाङसँग चीन र नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डतालगायत विषयमा कुराकानी भएको उहाँको भनाइ छ।
चीनले नेपालको विकासमा सहयोगीको भूमिका खेल्दै आएको र आगामी दिनमा विकास साझेदारीको रुपमा भूमिका खेल्ने विषयमा छलफल भएको उहाँले प्रष्ट पार्नुभयो । त्यसैगरी बैठकको सुरुमा अध्यक्ष ओलीले स्थानीय निर्वाचन, मतपत्र र समसामयिक विषयमा धारणा राख्नुभएको छ ।
बैठकले चुनावी घोषणापत्रको तयारी, पार्टी सञ्चालनका नियमावली पारित गर्ने विषयमा छलफल गर्दैछ। एमाले केन्द्रीय कमिटीको फागुन ९ र १० गतेको बैठकमा प्रस्तुत राजनीतिक र सांगठानिक प्रतिवेदन एवम् स्थानीय तहको उम्मेदवारको मापदण्ड तोक्ने विषयमा भएका निर्णयलाई स्थायी कमिटीले स्वीकृत गर्नेछ ।