डडेल्धुरा, चैत ११ : स्थानीय तहको निर्वाचनको समय नजिकिएसँगै राजनीतिक दलको चहलपहल बढेको छ । स्थानीय तहमा पार्टीभित्रै कसले टिकट पाउने विषयमा स्थानीय नेताहरु पार्टीका मुख्य नेतासँग भेटघाट कार्यक्रमलाई तिव्रता दिएका छन् ।
कांग्रेस पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाको गृह पालिकामा गन्यापधुरा गाउँपालिकाको प्रमुखका लागि कांग्रेस पार्टीका आकांक्षिहरु टिकटका लागि जिल्ला देखि केन्द्रसम्म दौडधुप ब्यस्त छन् ।
पार्टी सभापति देउवाको समेत गृह पालिकाका भएका कारण गन्यापधुरा गाउँपालिका प्रमुखमा कांग्रेसबाट को उम्मेदवार बन्ला भनेर धेरै चासोले हेरिएको छ । अहिले गाउँपालिका प्रमुखको आकांक्षीहरुमा वर्तमान गाउँपालिका प्रमुख नवल बहादुर मल्ल, गाउँपालिका वडा नं. २ का वडाध्यक्ष इन्द्र कार्की र काङ्ग्रेस स्थानीय नेता सुरेन्द्र माली रहेका छन् ।
गाउँपालिकाको आकांक्षीमा रहेका नवल बहादुर मल्ल पहिलो कार्यकालमा गाउँपालिकामा राम्रो काम गरेकाले अर्को कार्यकालका लागि पार्टीका तर्फबाट उम्मेदवार बनेर गाउँपालिका प्रमुख दोहो(याउने दाउमा छन् । मल्ल काङ्ग्रेसको भातृ संगठन नेपाल निजामती युनियनको नेता हुँदै २०७४ सालमा पहिलो स्थानीय निर्वाचनमा काङ्ग्रेस पार्टीबाट गन्यापधुरा गाउँपालिका प्रमुखमा विजयी भएका थिए ।
यस्तै पहिलो स्थानीय निर्वाचनमा काङ्ग्रेसबाट निर्वाचित गन्यापधुरा गाउँपालिका २ का वडाध्यक्ष तथा युवा नेता इन्द्र कार्की पनि गाउँपालिका प्रमुखको उम्मेदवार बन्ने लाइनमा रहेका छन् । जिल्ला र गाउँपालिकामा भएको काङ्ग्रेसको आन्तरिक मतभेदलाई मिलाएर आगामी गाउँपालिका प्रमुखको निर्वाचनमा आफ्नो उम्मेदवारीसहित विजयी हुने रणनीतिमा कार्की छन् ।
२०५२ साल नेविसंघ देखि राजनीतिमा सक्रिय रहेका कार्की बि स २०५२ मा गणेश माबी बडालको नेविसंघ इकाई सचिवबाट राजनीति सुरु गर्दै सानोठिमी क्याम्पस इकाई सदस्य ,नेविसंघ केन्द्रिय कार्यालयको मुख्य सचिव, गाउँ कमिटीको उपसभापति, सभापति हुँदै अहिले गन्यापधुरा गाउँपालिका २ को वडाध्यक्ष रहेका छन् ।
यस्तै युवा नेता सुरेन्द्र माली गाउँपालिका प्रमुखको आकांक्षिका रुपमा रहेका छन् । बि स २०५१ गणेश मावि बडालको इकाई अध्यक्षबाट राजनीति सुरु गरेका माली पालिका र जिल्लाको राजनीतिमा सक्रिय हुँदै आएका छन् । २०५१ को गणेश मावि इकाई अध्यक्ष, २०५४ मा सिताराम स्कुल डोटीको इकाई सचिव, २०५७ मा सानोठिमी क्याम्पसको इकाई अध्यक्ष, २०६२ मा नेविसंघ डडेल्धुराको कार्यवाहक अध्यक्ष, २०६४ मा तरुण दल डडेल्धुराको उपाध्यक्ष हुँदै नेपाली काङ्ग्रेस पार्टीको जिल्ला कार्य समिति सदस्य भएर राजनीति गरिसकेका छन् ।
गाउँपालिकामा लामो समय देखि काङ्ग्रेसको सक्रिय राजनीतिमा रहेका मालीले आगामी गाउँपालिकाको प्रमुखमा दाबी गरेका छन् । यसअघिको स्थानीय निर्वाचनमा गाउँपालिका प्रमुखको दाबी गरे पनि पछि गन्यापधुरा गाउँपालिकाका वर्तमान अध्यक्ष रहेका नवल बहादुर मल्ललाई अध्यक्ष बनाउने सहमति गरी पछि हटेका थिए । जिल्लामा देखिएको गुटमा माली पूर्व जिल्ला सभापति कर्ण मल्लसँग नजिक रहेका छन् ।
काङ्ग्रेसको १४ औं महाधिवेशनमा जिल्लामा एकलौटी रुपमा क्रियाशिल सदस्य वितरण गरेको भन्दै माली बहिष्कारको पक्षमा रहेका थिए । जिल्ला र पालिकामा पार्टीभित्र रहेका दुई पक्षको साझाका रुपमा आफू रहेको दाबी गर्दै गाउँपालिकामा कार्यकर्तासँगको भेटघाट कार्यक्रमलाई तिव्रता दिएका छन् ।
यस्तै गाउँपालिका प्रमुखमा जिल्ला सचीव शेर भण्डारीको दाबी रह्ने पनि बुझिएको छ । नेपाली कांग्रेसले चैतभित्र स्थानीय निर्वाचनमा उठ्ने उम्मेदवारहरूको टुंगो लगाइने तयारी गरिरहेको खबर उज्यालो अनलाइनले जनाएको छ ।