काठमाडौं, चैत ९ : सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक निकायमा अध्यादेशमार्फत गरेका नियुक्ति विवादसम्बन्धी विवादमा कारण देखाउ आदेश जारी गरेको छ ।
कायममुकाय प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले कारण देखाउन आदेश जारी गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वका समयमा संवैधानिक परिषद्ले गरेका ५२ जना संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति बदर गर्न मागसहित दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । गत शुक्रबारदेखि उक्त विवादमा सुनुवाइ सुरु भएको थियो । आज बहस सकिएर उक्त आदेश भएको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग गर्दै अधिवक्ता डा. गणेश रेग्मीले सर्वोच्चमा रिट निवेदन दर्ता गर्नुभएको थियो ।
यसअघि २०७८ भदौ १७ गते न्यायाधीश हरि फुयाँलको एकल इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गर्न आदेश दिएको थियो ।
न्यायाधीश फुयाँलको उक्त अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्ध परेको मुद्दा अघि बढ्न सकेको थिएन ।