एमाले केन्द्रीय कमिटी बैठकमा सातै प्रदेशको रिपोर्टिङ प्रस्तुत

  चैत ०९, २०७८

काठमाडौं, चैत ९ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको छ । अध्यक्ष ओलीले दशौं राष्ट्रिय महाधिवेशनदेखि हालसम्म पछिल्लो समय भइरहेको राजनीतिक परिवर्तनसहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

एमाले केन्द्रीय कमिटीको बुधबारको बैठकमा सातै प्रदेश कमिटीका अध्यक्षहरुले पार्टीको सांगठानिक, राजनीतिक, शक्ति सन्तुलनको स्थिति, पार्टी प्रवेशीको स्थिति लगायत विषयमा रिपोर्टिङ प्रस्ततु गर्नुभएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।

प्रदेश नम्बर १ को तर्फबाट तुलसी न्यौपाने, मधेश प्रदेशबाट रामअवतार यादव, बागमतीबाट केशव पाण्डे, गण्डकीबाट नवराज शर्मा, लुम्बिनीबाट राधाकृष्ण कँडेल, कर्णालीबाट विनोदकुमार साह र सुदूरपश्चिमबाट दामोदर भण्डारीले प्रदेशको रिपोर्टिङ प्रस्तुत गर्नुभएको उहाँले बताउनुभयो ।

बैठकमा महासचिवले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नुभएको र विभागहरु थप गर्नुपर्ने विषय उठेको छ । यससँगै स्थानीय तहको चुनावका लागि उम्मेदवारको मापदण्ड, घोषणापत्र, पार्टी स्थापना दिवस लगायतका विषयमा छलफल भएको छ ।

७७ मध्ये तीन जिल्लाबाहेक सबैको रिपोर्टिङ भएको भन्नुहुदै उहाँले मधेश प्रदेशमा भने राजनीतिक अस्थिरताका कारण शक्ति सन्तुलनको विषय टुंगो लगाउन नसकिएको बताउनुभयो ।

यसैगरी, देशभरमा एमाले पहिलो, काँग्रेस दोस्रो र अन्य पार्टीहरु तेस्रो लगायतका स्थानमा रहेको निष्कर्श निकालेको उहाँले भन्नुभयो ।

प्रतिवेदनमाथि बिहीबार छलफल हुने
नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठकमा आज प्रस्तुत भएका प्रतिवेदनमाथि बिहीबार छलफल हुने भएको छ ।

स्थानीय तहको आसन्न निर्वाचनका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न बोलाइएको सो बैठकमा आज अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन तथा प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ प्रस्तुत भएको पार्टीका उपमहासचिव एवं प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

बैठकमा चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायत ११ कार्यसूची छन् । बैठकमा शपथग्रहण गर्न बाँकी रहेका तीन जना केन्द्रीय सदस्यले पार्टी अध्यक्ष ओलीसमक्ष शपथ लिनुभएको थियो ।

तपाईको प्रतिक्रिया