काठमाडौँ, चैत ७ : नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले स्थानीय निर्वाचन हुन्न कि भन्ने दोधारमा नपर्न आग्रह गर्नुभएको छ । उहाँले चुनाव हुने कुरामा ढुक्क हुँदै घरदैलो सुरु गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
आज कांग्रेस बागमती प्रदेश कार्यालयको हेटौँडामा उद्घाटन गर्दै नेता सिंहले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी घरदैलो अभियानलाई तीव्र बनाउन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।
नेता सिंहले मतदाताको घरघरमा पुगेर उनीहरुको सुखदुःखमा सरिक हुँदै आवश्यक सुझावसमेत सङ्कलन गर्न सके मात्रै जनताको विश्वास र मत दुवै प्राप्त हुने बताउनुभयो । सिंहले चुनाव नजिकै आइसकेको उल्लेख गर्दै जनताको घर आँगनमा पुगेर जनताको अवस्था बुझ्नुपर्ने र जनहित हुनेखालका काम गर्नुपर्ने धारणा राख्नुभयो । नेपाली कांग्रेसप्रति जनताको असन्तुष्टि भए तिनको सम्बोधन गर्नुपर्ने तथा पार्टीले सुधार्नुपर्ने कुरा भए गम्भीर भएर सुधारका लागि प्रस्तुत हुनुपर्ने उहाँको भनाइ थियो ।
“सरकारले निर्वाचनको मिति तोकिसकेको छ, निष्पक्ष ढङ्गबाट निर्वाचन गराउन सरकार तयारी अवस्थामा छ । केही मानिसमा निर्वाचन तोकिएको समयमा नहुने हो कि भन्ने शङ्का रहेको पनि देखिन्छ । तोकिएकै मितिमा निर्वाचन हुने कुरा म विश्वास दिलाउन चाहन्छु । हामी विधि र प्रक्रियाअनुसार चल्ने पार्टी हौँ, चुनाव हुन्छ” उहाँले भन्नुभयो ।