काठमाडौँ, चैत ६ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधानको रक्षाका साथै लोकतान्त्रिक मूल्य र मान्यता संरक्षणका लागि क्रियाशील शक्तिबीच निर्वाचनमा तालमेल हुनसक्ने बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय काठमाडौँमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले आसन्न निर्वाचनमा जनताले प्रतिगामी चरित्रलाई परास्त गरी परिवर्तनका वाहक शक्तिलाई विजय गराउने बताउनुभयो ।
आफूहरु देश र जनतालाई केन्द्रविन्दुमा राखेर राजनीतिक यात्रालाई निरन्तर अगाडि बढाइरहेको बताउँदै उहाँले भन्नुभयो, “एमाले नेतृत्वले विगतमा गरेको प्रतिनिधिसभाको विघटनलगायत असंवैधानिक कार्यले उनीहरु परिवर्तनको वाहक होइनन, प्रतिगामी चरित्रका नमूना हुन् ।” एमाले नेतृत्वको गल्ती स्वीकार गर्न नसक्ने प्रवृत्तिले सो दलका नेताहरुको अधोगति सुरु भएको उहाँको भनाइ थियो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले एमाले परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गर्नेको लहर चलेकाले एकीकृत समाजवादी देशव्यापी रूपमा फैलिएको प्रष्ट पार्दै जनताले उक्त पार्टीबाट ठूलो अपेक्षा गरेको बताउनुभयो । जनताको आशामा इमानदारी, निष्ठा र समर्पणको भावनाले अगाडि बढ्न नेता तथा कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा दोलखा विगु गाउँपालिका–६ र ७ का ६० भन्दा बढी युवा एमाले र माओवादी केन्द्र परित्याग गरी पार्टी प्रवेश गरेका थिए । नवप्रवेशीलाई अध्यक्ष नेपाल र पार्टीका उपमहसचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले टीका र खादा लगाएर स्वागत गर्नुभएको थियो ।