काठमाडौँ, फागुन २९ : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । जसपाको जारी बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका २०७८ माथि नेताहरूले आ–आफ्नो धारणा राख्नुभएको जसपाले जनाएको छ ।
सो क्रममा जसपाका केन्द्रीय सदस्यहरूले पार्टीका कार्यकर्तालाई मात्र चुनावको टिकट दिन नेतृत्वलाई सुझाव दिनुभएको छ । निर्वाचनमा टिकटका लागि दौडधुप चलेको र पैसाको बलमा टिकट हत्याउने प्रवृत्ति देखिएको भन्दै केही सदस्यहरूले नेतृत्वलाई सजक गराउनुभएको एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो । आजको बैठकमा बोल्ने अधिकांश नेताहरूले पार्टीमा योगदान गरेकालाई मात्र टिकट दिन, पैसा र पहुँचका आधारमा टिकटको दुरुपयोग गर्न नहुने धारणा राख्नुभएको छ ।
बैठकमा केन्द्रीय सदस्य र प्रदेशका प्रतिनिधिहरूले रिपोर्टिङ गरिरहनुभएको जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठकमा जसपाको सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, स्थानीय तहको निर्वाचन निर्देशिका २०७८, पार्टीको विधान सम्मेलन र समसामयिक राजनीतिक विषयमाथिको प्रतिवेदन उपर धारणा राख्ने क्रम जारी छ । जसपाको केन्द्रीय समिति बैठक भोलि सोमबार सकिनेछ ।