‘पदीय मर्यादा नदेखिएकाले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग’

  फागुन २९, २०७८

काठमाडौं, फागुन २९ : नेकपा (माओवादी केन्द्र)का सांसद देव गुरुङले प्रधान्यायाधीश चोलेन्द्रशम्शेर राणाले पदीय मर्यादा अनुरुप काम नगरेको बताउनुभएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा राणाविरुद्धको महाभियोग प्रस्ताव पेश गर्दै गुरुङले यस्तो बताउनुभएको हो। प्रधान्यायाधीशले अदालतको गरिमा कायम गर्न नसकेको बताउनुभयो । प्रधान्यायाधीशको सुनुवाइका क्रममा संसदमा गरेका प्रतिबद्धता पूरा नगरेकोसमेत उहाँले बताउनुभएको छ ।

सम्मानित पदमा बसेका व्यक्तिले त्यसको अपमान गरेको आरोप महाभियोग प्रस्तावमा उल्लेख गरिएको छ । सांसद गुरुङले संविधानको धारा १०१ को उपधारा (२) एवम् प्रतिनिधिसभा नियमावली २०७५ को नियम १६१ अनुसार संसदमा दर्ता भएको महाभियोग प्रस्ताव संसदमा पेश गर्नुभएको हो ।

सांसद देव गुरुङ, पुष्पा भुसाल र जीवनराम श्रेष्ठ प्रस्तावक एवम् ९५ जना सांसद समर्थक पेश भएको महाभियोग प्रस्ताव आइतबार प्रतिनिधिसभा बैठकमा पेश भएको हो ।

तपाईको प्रतिक्रिया