साहित्यिक पत्रकार नगेन्द्रराज शर्मालाई विशेष सम्मान

  फागुन २९, २०७८

काठमाडौँ, फागुन २९ : अभिनव साहित्य समाज र सुरभि साहित्य प्रतिष्ठानले वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मालाई नगद पुरस्कारसहित विशेष सम्मान गरेका छन् ।

अभिनव साहित्य समाजको २४१औँ साहित्यिक शङ्खला अन्तर्गत २१औँ वार्षिकोत्सव एवं शिशिर विशेष कवि गोष्ठीको अवसर पारेर शनिबार जोरपाटीमा आयोजित कार्यक्रममा उहाँलाई समाजको तर्फबाट रु दश हजार र प्रतिष्ठानको तर्फबाट रु पाँच हजार गरी कूल रु १५ हजारसहित अभिनन्दन गरिएको हो ।

यसैगरी गोपाल अस्कलाई नगद रु १० हजारसहित वेदमणि अभिनव गजल पुरस्कार २०७८ ले सम्मानित गरिएको छ । समाजसेवी श्रीकृष्णराज पुडासैनीलाई समाजसेवा सम्मान प्रदान गरिएको समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले राससलाई जानकारी दिनुभयो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्याय प्रेक्षितले पुरस्कार एवं सम्मान प्रदान गर्नुभएको थियो ।

सो अवसरमा सचिव उपाध्यायले कविले थोरै शब्दमा धेरै भाव आउने रचना सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा ठाकुर शर्मा, कणाद महर्षि, डिल्लीराज अर्याल, कल्पतरुका सम्पादक नवराज पुडासैनी ज्योत्स्नालगायतले आ–आफ्ना मन्तव्यसहित रचना वाचन गर्नुभएको थियो । उहाँहरुले समाजको प्रत्येक महिनाको अन्तिम शनिबारको कार्यक्रमले जोरपाटी क्षेत्रमा सिर्जनात्मक वातावरण बनेको बताउनुभयो ।

कार्यक्रममा समाजका उपाध्यक्ष बिमल अर्याल, सदस्य शारदा पराजुली, सचिव परशुराम पराजुली, सदस्य मेनका पोखरेल, घनश्याम प्रसाइँ, विन्दा खतिवडा, सुमन पुडासैनी र आलोक चालिसेलगायतले सम्मानित व्यक्तित्वका बारेमा प्रकाश पार्दै आ–आफ्ना रचना वाचन गर्नुभएको थियो । वाचित रचनामध्ये देवीप्रसाद मिश्र, देवकी खतिवडा, शान्ति रिसाल र बिपी इलामेको रचनालाई उत्प्रेरक पुरस्कार प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया