रूसी मागपछि इरानसँगको आणविक वार्ता रोकियो

  फागुन २७, २०७८

भियना, फागुन २७ : सन् २०१५ इरानसँग भएको आणविक सम्झौताको पुनरुत्थान सम्बन्धमा यूरोपेली संघले अध्यक्षता गरिरहेको वार्ता शुक्रबारदेखि रोकिएको इयूले जनाएको छ । वार्ताको केही दिनपछि वार्ताले सकारात्मक मोड लिइरहेको बताइएको समयमा रूसद्वारा वार्ता प्रक्रियालाई रोक्न गरिएको आह्वानपछि वार्ता अवरूद्ध बनेको हो ।

‘वार्ताको अन्तिम चरणमा सबै वुँदा तयार भई ‘सकारात्मक छलफल’ भइरहेका समय ‘बाह्य शक्तिका कारण’ वार्ता रोकिएको यूरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले ट्वीटमार्फत् जानकारी गराउनुभएको छ ।

हालको वार्ता नोभेम्बरको अन्त्यतिर अस्ट्रियाको राजधानी भियनामा बेलायत, चीन, फ्रान्स, जर्मनी, इरान र रुसबीच सुरु भएको थियो । अमेरिकाले अप्रत्यक्ष रूपमा भाग लिएको थियो ।

सन् २०१८ मा अमेरिकी भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्झौताबाट हटेपछि इरानले पनि क्रमशः सम्झौतालाई भङ्ग गरेको थियो । वार्ता टोलीले सन् २०१५ संयुक्त व्यापक कार्य योजना ९जेसीपीओए० पुनः जीवित गर्नका लागि लक्ष्यतर्फ धेरैजसो उपायबारे प्रगति भएको थियो ।

वार्ताको व्यक्तिगत अध्यक्षता गरिरहेका यूरोपीय संघका कूटनीतिज्ञ एनरिक मोराले संवाददाताहरूसँग भन्नुभयो, “वार्तामा असहमतिका कतिपय बूँदामा ‘फुटनोट’ लेख्ने हदसम्म पुगिएको थियो ।”
उहाँले विशेष गरी संयुक्त राज्य अमेरिका र इरानलाई उनीहरूको “अत्यन्तै रचनात्मक र धेरै सकारात्मक दृष्टिकोण” का लागि प्रशंसा गर्नुभयो ।

तथापि, गत हप्ता रूसले युक्रेनको आक्रमणपछि आफ्नो अर्थव्यवस्थामा लगाइएको पश्चिमी प्रतिबन्धले इरानसँगको आफ्नो व्यापारमा कुनै प्रभाव पार्ने छैन भन्ने ग्यारेन्टी माग गरिरहेको बताएको थियो।
सन् २०१५ मा मौलिक जेसीपीओएमा जस्तै, मस्कोले कुनै पनि नयाँ सम्झौता कार्यान्वयनमा भूमिका खेल्ने अपेक्षा गरिएको थियो ।

तपाईको प्रतिक्रिया