खोप कार्ड भए विदेशबाट आउन पिसिआर रिपोर्ट नचाहिने

  फागुन २६, २०७८

काठमाडौँ, फागन २६ : विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशी सबै यात्रुले पूर्ण खोप मात्रा पूरा गरेको खोप कार्ड देखाए पिसिआर रिपोर्ट नचाहिने भएको छ । खोप कार्ड वा पिसिआर नेगेटिभ भएको प्रमाणपत्र ल्याउने क्वारेन्टिन पनि बस्नु नपर्ने भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णय सरोकारवाला मन्त्रालयहरुलाई पठाएको छ । निर्णयअनुसार अब हवाई तथा स्थलमार्गबाट यात्रुहरु निर्वाध नेपाल आउन पाउने उल्लेख गरिएको छ ।

नेपालबाट हवाई मार्ग भई अन्य मुलुक जाने यात्रुको लागि गन्तब्य मुलुकको कोभिड १९ स्वास्थ्य प्रोटोकल सम्बन्धमा सम्बन्धित एयरलाइन्सले आफ्ना यात्रुलाई जानकारी गराउनु पर्ने छ । यसको अनुगमन गर्ने जिम्मेवारी भने पर्यटन मन्त्रालयले पाएको छ ।

निर्णय अनुसार युक्रेन द्वन्द्वका कारण स्वदेश फर्कने नेपालीलाई विमानस्थलमा प्राथमिकताका साथ सहजीकरण गरिने भएको छ । पीसीआर परीक्षण नभएका वा सीसीएमसी फारम नभरेको र खोप समेत नलगाएको भए पनि उनीहरुलाई छुट्टै स्वास्थ्य कक्ष स्थापना गरी सहजिकरण गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको हो ।

उहाँहरुको एन्टिजेन परीक्षण गरी यात्रुलाई होम क्वारेन्टिन पठाउने र पोजेटिभ आएका यात्रुलाई संस्थागत आइसोलेसनमा पठाउने निर्णय समेत भएको हो ।

तपाईको प्रतिक्रिया