मस्को,फागुन २४ : रुस र युक्रेनबीचको युद्धले विश्वबजारमा अमेरिकी डलर, सुन र पेट्रोलको भाउ उचाइमा पुगेको छ । रुस(युक्रेन द्वन्द्व लम्बिँदै जाने हो भने आउँदा दिनमा मूल्यवृद्धि थप अकासिने र विश्वअर्थतन्त्र झनै नराम्रो अवस्थामा पुग्न सक्ने विज्ञहरूको चेतावनी छ ।
युक्रेनमाथि आक्रमण गरेको भन्दै पश्चिमा देशहरूले रुसमाथि विभिन्न प्रतिबन्ध लगाएका छन् । पश्चिमा देशहरूले थप प्रतिबन्ध लगाए कडा कदम चाल्ने रुसले प्रतिक्रिया दिएको छ ।
पश्चिमाहरूले थप प्रतिबन्ध लगाए जर्मनी जाने ग्यास पाइपलाइन बन्द गरिदिने रुसले चेतावनी दिएको छ । रुसका उपप्रधानमन्त्री एलेक्जेन्डर नोभाकले रुसी तेलमाथि प्रतिबन्ध लगाइए त्यसले विश्वबजारमा विकराल समस्या निम्तिने बताउनु भएको छ । उहाँले कच्चा तेलको मूल्य प्रतिब्यारेल ३ सय अमेरिकी डलरसम्म पुग्न सक्ने बताउनु भयो । ‘अप्रत्याशित मूल्यवृद्धि हुन सक्छ, कच्चा तेलको मूल्य प्रतिब्यारेल ३ सय अमेरिकी डलरसम्म पुग्न सक्छ,’ उपप्रधानमन्त्री एलेक्जेन्डर नोभाकले भन्नुभयो ।
अमेरिकाले गठबन्धन देशहरूसँग मिलेर रुसमाथि थप प्रतिबन्ध लगाउने चेतावनी दिइरहेको छ । सोमबार अमेरिकाको प्रस्तावमा जर्मनी र नेदरल्यान्ड्सले भने विरोध जनाइसकेका छन् । जर्मनीका चान्सलर ओलाफ स्कोल्जले रुसी इन्धनमाथिको प्रतिबन्धले युरोपेली नागरिकको दैनिकीमा असर पुग्ने बताउनु भएको थियो । वैश्विक ऊर्जा बजारमा रुसको महत्त्वपूर्ण भूमिका भएकै कारण अमेरिका र युरोपेली संघ अझै पनि तेल र ग्यास आयातमा प्रतिबन्ध लगाउन सकेका छैनन् ।
ग्यास, कोइला र तेलमा युरोप पूर्णतया रुसमाथि नै निर्भर रहेको छ । रुस युरोपमा ४० प्रतिशत ग्यास र ३० प्रतिशत तेल निर्यात गर्छ । अमेरिका र साउदी अरेबियापछि रुस विश्वकै तेस्रो ठूलो तेल उत्पादक देश हो । रुस हरेक दिन ४० देखि ५० लाख ब्यारल कच्चा तेल र वार्षिक ८ हजार ५ सय अरब क्युबिक फिट प्राकृतिक ग्यास निर्यात गर्छ ।






