काठमाडौँ, फागुन २२ : वरिष्ठ वामपन्थी नेता कृष्णराज वर्माको आज ९३ वर्षको उमेरमा निधन भएको छ । उहाँ लामो समयदेखि नसाको रोगबाट बिरामी पर्नुभएको थियो । केही दिनदेखि उहाँ ह्याम्स अस्पतालमा उपचारत हुनुहुन्थ्यो ।
छातीमा संक्रमण देखिएपछि वर्मालाई गत फागुन ९ गते चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नभएपछि फागुन १४ मा ओमबाट धुम्बाराहीस्थित ह्याम अस्पतालको आईसियुमा भर्ना गरिएको थियो । बर्माको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको छ ।
नेपालको कम्युनिस्ट आन्दोलनमा अनवरत सङ्घर्ष गर्दै आउनुभएका वर्मा निष्ठावान् नेता मानिनुहुन्छ । २००७ सालको क्रान्तिमा सप्तरीको हनुमाननगर क्षेत्रमा होमिएका वर्मा लामो समयसम्म वामपन्थी आन्दोलनमा सक्रिय नेता हुनुहुन्थ्यो । उहाँका श्रीमती, तीन छोरा र तीन छोरी हुनुहुन्छ ।