युक्रेनमा रहेका पाँच सय ११ नेपाली सुरक्षित स्थानमा, चार जनामा देखियो मानसिक समस्या

  फागुन २०, २०७८

काठमाडौं, फागुन २० : रुस–युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीहरु सुरक्षित स्थानमा पुगेको जर्मनीका लागि नेपाली राजदूतावासले जानकारी दिएको छ ।

‘रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समिति’को बैठकलाई बिहीवार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतको देशमा पुगेको जानकारी दिनुभयो ।

समितिका अनुसार हालसम्म ४ सय ३ जना पोल्याण्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, ६ जना हंगेरी, र ४ माल्दावा पुगेको दूतावासको भनाई छ । हालसम्म ५ सय ११ जना नेपालीहरु सुरक्षित गन्तन्यमा पुगेको दूतावासले जानकारी दिएको हो । उद्दार गरिएका मध्ये ४ जना नेपालीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ।

युक्रेनबाट निस्केका मध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ ।

बैठकलाई सम्बोधन गर्दै उद्दार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा। बद्री केसीले युक्रेनमा करिब ४० जनाको परिवार आफ्नो व्यवसायसहित स्थायी बसोबास गर्दै आउनुभएकोले पारिवारी र व्यवहारिक कारणले युक्रेन छोड्न नसक्नु भएको जानकारी दिनुभयो ।

उनले अप्ठ्यारोमा परेका नेपालीहरुलाई आर्थिक सहयोग समेत गराउने उद्देश्यले संघको पोल्याण्ड राष्ट्रिय समितिलाई आर्थिक संकलनको लागि अनुमति दिएको बताउनु भयो ।

उनले एनआरएनएका राष्ट्रिय समितिहरु उद्दार कार्यमा सकृय रुपमा लागि परेको जानकारी दिदै एनआरएनए पोल्याण्डको सकृयतामा आर्थिक सहयोग संकलनको तयारी थालिएको जानकारी दिनुभयो ।

रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले रोमानियामा आयोजित एक सम्मेलनमा सहभागी भएर युद्ध प्रभावित नेपालीहरुको समस्यका बारेमा जानकारी दिनुभयो । विश्वभरका एकसय भन्दा बढी देशका प्रतिनिधिहरु सहभागी सो सम्मेलनमा पोखरेलले युक्रेनबाट विस्थापित भएर रोमानिया आएका नेपालीहरुलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

बैठकमा स्वास्थ्य समितिका संयोजक डा। बोध सुवेदीले युक्रेन तर्फबाट अन्य देशमा आउने नेपाली संख्या कम हुदै गएको जनाकारी दिनु भयो । उहाँले उद्धारको लागि आग्रह गर्ने नेपालीहरुको संख्या हुवात्ते कम हुदै गएको र अवस्था सामान्य बन्दै गएको बताउनुभयो । उहाँले केही नेपालीहरु युद्धको क्रममा हराईरहेको आशंका समेत रहेको बताउनु भयो ।

गैरआवासीय नेपाली संघ स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले आफ्नै रेष्टुरेन्टमा बनाएको सेल्टरमा नेपाली लगायत अन्य देशमा नागरिकहरुलाई समेत राखेर मानवीय सहयोग गरेको जानकारी दिनुभयो । उहाँले भारतीय, वंगलादेशी र सेनेगलका नागरिकहरुलाई समेत सेल्टर उपलब्ध गराउनु भएको छ ।

 

 

तपाईको प्रतिक्रिया