नेपालीको उद्धार गर्न स्लोभाकियामा रेस्टुरेन्टलाई बनाइयो उद्धार केन्द्र

  फागुन १८, २०७८

काठमाडौं,फागुन १७ : युक्रेनमा रहेका मध्ये २३० नेपालीले सीमा पार गरेका छन् । रुसले आक्रामण सुरु गरेपछि त्यहाँ रहेका नेपालीले युक्रेन छोडेका हुन् । गैर आवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष डा. बद्री केसीका अनुसार युक्रनेमा रहेका करिव ४०० नेपालीमध्ये २३० जनाले युक्रेनको सीमा पार गरेर पाेल्याण्ड, हंगेरी, स्लाेभाकिया लगायतका देशमा पुगेका हुन् ।

युक्रेनमा रहेका चार सयमध्ये ९० प्रतिशत युक्रेनको सीमा क्षेत्रमा आइपुगेको उहाँको भनाइ छ । युक्रेनमा रहेका अन्य नेपालीकोसमेत उद्धारको प्रयास भइरहेको छ । ‘युक्रेनमा रहेका चार सय नेपालीमध्ये २३० जनाले सीमा पार गरेका छन्’, केसीले भन्नुभयो, ‘९० प्रतिशत नेपाली युक्रेनको सीमामा रहेका अन्य देशमा आएसकेका छन् । बाँकी १० प्रतिशत युक्रनेमै रहेका छन् ।’

बाँकी सबै युक्रेनको खार्कोभ सहरमा सुरक्षित अवस्थामै रहेको उहाँले बताउनुभयो । खार्कोभ सहरबाट बाहिर निस्कन असुरक्षित भएकाले त्यहाँ रहेका सबैलाई एक/दुई दिनको अवस्थापछि मात्र बाहिर निस्कन आग्रह गरिएको केसीको भनाइ छ । सीमा क्षेत्रमा रहेका सबैलाई खाने, बस्ने व्यवस्था गर्नका लागि एनआरएनएका स्वयम्सेवक खटिएको उहाँले बताउनुभयो । अहिलेसम्म सबै नेपाली सुरक्षित रहेको केसी बताउनुहुन्छ ।

रेष्टुरेन्ट बन्यो आश्रयस्थल
स्लोभाकियको राजधानी ब्रातिस्लाभामा रहेको ‘नेपाल रेस्टुरेन्ट’लाई अहिले उद्दार केन्द्र बनाइएको छ। स्लोभाकियमा विगत १० वर्षदेखि रहँदै आउनुभएका ताप्लुेङका जयप्रसाद सिवाकोटीले १५ दिनका लागि रेस्टुरेन्ट बन्द गरेर त्यसलाई ट्रान्जिट केन्द्रको रुपमा विकास गर्नु भएको हो ।

उहाँले मंगलबार भन्नुभयो, ‘अहिले १५ जनाले रेस्टुरेन्टमा आश्रय लिनुभएको छ । उहाँहरुलाई आजै अन्यत्र पठाएर भोलि स्लोभाकियाको सिमानामा आउन लाग्नुभएका १२ जना नेपालीलाई राख्ने तयारी गरेका छौँ छौं । यहाँ ठाउँ सानो भएकाले केही समय यहाँ राखेर तातो खाना खुवाएर उहाँहरुलाई बस्नका लागि अन्यत्र पठाउने गरेका छौं ।’ सीमा पार गरेर त्याहाँ आइपुगेका नेपाली थकित देखिन्छन् । सबै चिसो र भोकले लखतरान परेको पाइएको उहाँको भनाइ छ । ‘निकै दुःख पाएर आउनु भएको छ उहाँहरुलाई हामीले तातो चिया मात्र होइन तकारी, भात र साग पाकाएर खुवायौं त्यसपछि उहाँहरुले घरै पुगेको अनुभव गर्नुभयो’, उहाँले थप्नुभयो ।

उहाँले आफूहरुले रुस र युक्रेनबीच युद्ध सुरु भए पछि तत्कालै जर्मनस्थित नेपाली दूतावासमा छलफल गरेर नेपालीको उद्धारमा जुट्ने तयारी गरेको र त्यो सफल भएको बताउनुभयो ।
उहाँले स्थानीयहरुले निकै सहयोग गरेको उल्लेख गर्नुभयो । उनीहरुले नयाँ फ्ल्याडहरु खाली गरेर त्यहाँ आएका नेपालीलाई खाने बस्ने व्यवस्था मिलाएका छन् । युक्रेनमा रहेका सबै नेपाली स्लोभाकिया आइपुगे पनि आफूहरुले एक महिनासम्म राख्न सक्ने लजिस्टिक व्यवस्था मिलाएको सिवाकोटीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया