काठमाडौँ, फागुन १६ : राष्ट्रिय वाणिज्य बैंक र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागबीच सम्झौता भएको छ । एमए (स्नातकोत्तर) र एमफिल (दर्शनाचार्य) अध्यययन गरिरहेका विद्यार्थीहरूलाई अनुसन्धानात्मक शोधग्रन्थ लेखन कार्यमा सहयोग गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठ र त्रिवि अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. शिवराज अधिकारीले हस्ताक्षर गर्नुभयो ।
बैंक सञ्चालक समिति अध्यक्ष डा. बलराम पाठकले अनुसन्धानबाट आउने प्रतिवेदनले बैंक र देशकै आर्थिक क्षेत्रलाई अगाडि बढाउन मद्धत पुग्ने बताउनु भयो । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले गर्ने लगानीका क्षेत्रहरूमा हुने जोखिम तथा सम्भावनाहरूको बारेमा यथार्थपरक ढङ्गबाट अनुसन्धान भई आगामी दिनमा बैंकलाई रणनीतिक ढङ्गबाट अगाडि बढ्न दिशानिर्देश गर्ने उल्लेख गर्नु भयो ।
साथै, उहाँले अर्थशास्त्र विभागसँगको सहकार्यमा यथार्थपरक रुपमा लेख्न प्रेरित गर्न आर्थिक हिसाबले आवश्यक तथा जेहेन्दार विद्यार्थीहरूलाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सुविधा प्रदान गर्ने बताउनु भयो ।
अर्थशास्त्र विभागका प्रमुख अधिकारीले विभागले विभिन्न वित्तीय क्षेत्रसँग यस्तो सम्झौता गरिरेहकाले प्राप्त हुने अनुसन्धानात्मक प्रतिवेदनले देशको अर्थतन्त्रमा योगदान पुग्ने बताउनु भयो । उहाँले अर्थशास्त्र विभागले माग गरी प्राप्त प्रस्ताव मध्ये उत्कृष्ठ पाँच प्रस्तावलाई छनौट गरी बैंकसँगको सहकार्यमा अनुसन्धान क्षेत्र तोकी शोधग्रन्थ तयार गर्ने विद्यार्थीहरूलाई सहयोग रकम उपलब्ध गराइने बताउनु भयो ।