रुसद्वारा युक्रेनमा सैन्य कारबाही सुरु गरेको घोषणा

  फागुन १२, २०७८

काठमाडौं, फागुन १२ : रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेन संकटबारे छलफल चलिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गरेका हुन् ।

युक्रेनको डोनबास क्षेत्रमा विशेष सैन्य कारबाहीको घोषणा गरेको केही घण्टापछि युक्रेनको सीमाभित्र रुसी सैनिक प्रवेश गरेका छन् । रुसी सैनिकहरू युक्रेनको खारकिभ क्षेत्रतर्फ अघि बढेको युक्रेनी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन् ।

युक्रेनका विदेशमन्त्रीले रुसले युक्रेनमा हमला गर्न सुरु गरिसकेको दाबी गर्दै यसमा युक्रेन रक्षात्मक रुपमा उभिने बताए ।

युक्रेनको राजधानी किभमा केहि समयअघि विस्फोटको आवाज सुनिएको बीबीसीले उल्लेख गरेको छ । किभमा विस्फोटको आवाज सुनिएपछि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले शान्ति स्थापनाका लागि आह्वान गरेको छ ।

यसैबीच राजधानी किभ,  डोनेट्स्क र लहान्सक क्षेत्रमा ठूला विष्फोटको आवाज सुनिएको बीबीसीले जनाएको छ । डोनेट्स्क र लुहान्सकलाई रुसले स्वतन्त्र राज्यको मान्यता दिइसकेको छ ।

पुटिनले टेलिभिजन सम्बोधनको क्रममा डोनबास क्षेत्रमा विशेष सैन्य अभियान सुरु भएको घोषणा गरेको बीबीसीले जनाएको छ । यता राष्ट्रपति पुटिनले भने युक्रेनमा हमला गर्ने कुनै योजना नभएको बताउँदै आएका छन् ।

  1. रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा “सैन्य कारबाही”को घोषणा गरेका छन् ।
  2. पुटिनले पूर्वी युक्रेनस्थित युद्ध क्षेत्रबाट आफ्ना हतियारहरू बिसाउन र घर फर्कन युक्रेनी सेनालाई आग्रह गरेका छन् ।
  3. युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले आक्रमणले युरोपेली महाद्वीपमा “ठूलो युद्धको सुरुवात हुनसक्ने” बताएका छन् ।
  4. उनले राति ढिलो गरी देशवासीलाई सम्बोधन गर्दै यदि रुसले हमला गरे “हामी आफ्नो रक्षा आफैँ गर्छौँ” भन्ने वाचा गरेका थिए ।
  5. युक्रेनको स्थानीय समय अनुसार बिहीवार राति १० बजेदेखि एक महिना लामो सङ्कटकालीन अवस्थामा प्रवेश गर्दैछ ।
  6. क्रेमलिनले युक्रेनबाट टुक्रिएका दुईवटा पूर्वी क्षेत्रले “युक्रेनी सेनाको आक्रामक व्यवहारविरुद्ध” सहयोगका लागि अपील गरेको बताएको छ ।
  7. विश्लेषकका भनाइमा त्यस्तो खाले अपील गरिएको भनेर रुसी सञ्चारमाध्यमले जनाएको कुरा पूर्ण स्तरको आक्रमणको बहाना हुनसक्छ ।
  8. एकजना अमेरिकी वरिष्ठ अधिकारीले रुस पूर्ण स्तरको सैन्य आक्रमणका लागि तयार भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया