रुसमा अझै पनि दैनिक एक लाख ५० हजार नयाँ सङ्क्रमित

  फागुन ०९, २०७८

मस्को, फागुन ९ : रुसमा कोरोनाभाइरसबाट अझै पनि दैनिक एक लाख ५० हजारभन्दा बढी नयाँ सङ्क्रमित हुने गरेका छन् ।

सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा रुसमा एक लाख ५२ हजार ३३७ जना नयाँ सङ्क्रमित भएका हुन् ।

यो सङ्ख्या यही फेब्रअरी २ पछिकै सबैभन्दा कम हो । यससँगै रुसमा कोरोनाभाइरसबाट अहिलेसम्म सङ्क्रमित भएकाहरुको कूल सङ्ख्या एक करोड ५५ लाख २२ हजार ७५६ पुगेको छ ।

त्यसैगरी रुसमा कोरोनाका कारण अहिलेसम्म तीन लाख ४६ हजार २३५ जनाको मृत्यु भएको छ । तीमध्ये ७३५ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।

सरकारी अधिकारीहरुका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिलेसम्म एक करोड २४ लाख ९२ हजार ७३२ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो एक दिनमा भने एक लाख २७ हजार ४९४ जना सङ्क्रमणमुक्त भएका हुन् ।

रुसमा कोरोनाभाइरसबाट सबैभन्दा धेरै सङ्क्रमित मस्कोमा रहेका छन् । राजधानी मस्कोमा पछिल्लो एक दिनमा चार हजार ९९७ जना नयाँ सङ्क्रमित भएका छन् । मस्कोमा अहिलेसम्म सङ्क्रमितहरुको सङ्ख्या भने २६ लाख ६९ हजार १८६ रहेको छ ।

तपाईको प्रतिक्रिया