राससले फागुनभित्रै ‘भिडियो’ सेवा सञ्चालन गर्ने

  फागुन ०७, २०७८

काठमाडौँ, फागुन ७ : मुलुकको एकमात्रै सत्य, तथ्य, आधिकारिक, निष्पक्ष र विश्वसनीय समाचार समिति, राष्ट्रिय समाचार समिति (रासस) ६१औँ वर्षमा प्रवेश गरेको छ । ६१औँ वर्षमा प्रवेश गरेसँगै राससले आफ्नो सेवा विस्तारलाई जोड दिएको छ । राससले यही फागुन महिनाभित्रमा ‘भिडियो’ सेवा सञ्चालन गर्ने भएको छ ।

६१औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा भिडियो सेवा सञ्चालन गर्ने बताउनुभयो । उहाँले भिडियो सेवा सञ्चालन गरी समग्र समाचार सेवाको गुणस्तर अभिवृद्धि गरी उल्लेख्य सङ्ख्यामा सेवाग्राही विस्तार गर्ने योजना सुनाउनुभयो ।

उहाँले राज्यको नीति÷नियम र राससको आफ्नो ऐन÷विनियमका कारण राससको स्तरोन्नतिमा समस्या भएको बताउँदै त्यसलाई समयानुकूल परिमार्जन गर्नुपर्ने बताउनुभयो । राससलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका रूपमा अगाडि बढाउनका लागि राज्यले नयाँ ढङ्गबाट सोच्नुपर्ने उहाँको भनाइ छ । अध्यक्ष श्यामलले कतिपय ऐन र विनियमावलीका कारण कर्मचारीको वृत्ति, विकासमा समस्या भएको बताउँदै नयाँ दरबन्दीलगायत राससले अघि सार्दै आएको नयाँ योजनामा सहयोग गर्न मन्त्रालयलाई आग्रह गर्नुभयो ।

राससका महाप्रबन्धक सिद्धराज राईले करिब वर्ष दिनभरि नै कोभिड– १९ सङ्क्रमणका कारण सिर्जित प्रतिकूल अवस्थाका बाबजुद गत वर्ष करिब एक लाख २० हजार ९५३ समाचार सामग्री सम्प्रेषण गर्न रासस सफल भएको जानकारी दिनुभयो । विसं २०७७ फागुन १ देखि २०७८ माघ मसान्तसम्म एक वर्षको अवधिमा राससमा एक लाख ४३ हजार १४८ वटा समाचार सामग्री सम्प्रेषण भइसकेको छ ।

महाप्रबन्धक राईले भन्नुभयो, “रासस ऐन, २०१९ ले अब रासस चल्न नसक्ने देखिएकाले मस्यौदा तयारीको काम तीव्रगतिमा भइसकेको छ । रासस कर्मचारी सेवा, शर्त, विनियमावली तथा रासस आर्थिक विनियमावली पनि संशोधन प्रक्रियाअन्तर्गत एक वर्षअघि सञ्चार मन्त्रालयमा पेश गरिएको तर स्वीकृत भई नआएकाले अब मौजुदा आर्थिक विनियमावलीलाई निष्क्रिय बनाई सार्वजनिक खरिद ऐन लागू गर्ने गरी नीतिगत व्यवस्था गर्नुपर्ने भएको छ ।”

केन्द्रीय कार्यालयको नयाँ भवनमा आधुनिक उपकरणसहित स्टुडियो निर्माण भइसकेको र भिडियो सेवा सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको उहाँको भनाइ छ । महाप्रबन्धक राईले स्टुडियो निर्माण भइसकेकाले अब भिडियो सेवा सञ्चालन हुने र अडियो सेवा अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार समाचार सेवाको गुणस्तर अझ सुधार गर्ने उद्देश्यसहित जारी भएको रासस समाचार सुधार निर्देशिका, २०७७ कार्यान्वयनमा गएसँगै खोजमूलक समाचार तथा फोटोको सङ्ख्यामा उल्लेख्य वृद्धि भई आम सञ्चारमाध्यमले प्रयोग गर्ने दर वृद्धि भएको छ ।

विशेषगरी अनलाइन सञ्चारमाध्यमले राससका सेवा लिने दर उल्लेख्य मात्रामा वृद्धि भएको छ । राससको सेवालाई थप व्यवस्थित गर्न एकीकृत सफ्टवेयर प्रविधिको खरिद गरी सञ्चालनको तयारीमा रहेको छ । यो प्रविधिको प्रयोगले समाचारको गुणस्तर वृद्धि हुनुका साथै र समाचार हराउने समस्या समाधान हुनेछ । त्यस्तै राससको सर्भर कमजोर भएका नयाँ सर्भर खरिद प्रक्रिया अगाडि बढेको छ । सर्भर खरिद सम्झौता भई जडान गर्ने प्रक्रियामा रहेको छ । राससको आर्काइभ व्यवस्थापनको कार्य भइरहेको छ । राससको पुस्ताकालय व्यवस्थापनको कार्य नयाँ भवन बनेसँगै थप व्यवस्थित बनाउने योजना रहेको छ ।

हरेक प्रदेशमा कम्तीमा सात जनाका दरले जनशक्तिको व्यवस्था गरी प्रदेशबाटै बुलेटिन प्रकाशन गर्ने योजना कार्यान्वयनमा मन्त्रालयको तर्फबाट आवश्यक सहयोग प्राप्त हुने महाप्रवन्धक राईले विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार राससले सेवालाई प्रभावकारी बनाउन सबै प्रदेशस्तरमा अभिमुखीकरण तालिम गरिने योजना बनाएको छ । तालिमका लागि रासस केन्द्रीय कार्यालयमा शैली पुस्तिका व्यवस्थित गर्ने योजनासमेत राससले बनाएको छ । कार्यक्रममा रासस सञ्चालक समिति सदस्य राजेश पोखरेल, माधव विद्रोही, एकराज पाठक, नायब महाप्रबन्धकहरू विभागीय प्रमुखज्यू, रासससम्बद्ध कर्मचारी सङ्घ, सङ्गठन र युनियन तथा नेपाल पत्रकार महासङ्घ रासस शाखाका अध्यक्षहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया