काठमाडौँ, फागुन ४ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कामको चाप र राजनीतिक आवश्यकताले मन्त्रिपरिषद् र मन्त्रालयको सङ्ख्या वृद्धि गरेको बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपालको प्रदेश नं १ स्तरीय प्रथम भेलाको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले विगतको सरकारले कुनै पनि काम गर्न नसकेको र कार्य विशेषताले मन्त्रालयको विभाजन गर्नुपरेको धारणा व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री राईले मन्त्रिमण्डल विस्तारबाट केही खर्च वृद्धि भए पनि सरकारले राजस्व बढाउने विश्वास दिलाउँदै विगतको सरकारले ठूलो आर्थिक खाडल सिर्जना गरेकोमा त्यसलाई पुन आफूले महत्वपूर्ण योजना ल्याउने बताउनुभयो । उहाँले सरकारले बजेटको पुनरावलोकन गरी अनावश्यक योजना कटौती गरी आगामी १०र१५ दिनभित्र केन्द्रबाट थप बजेट ल्याई प्रदेशको समृद्धिका लागि केही नयाँ योजना ल्याउने बताउनुभयो ।
मुख्यमन्त्री राईले प्रदेशका नामका लागि सबै राजनीतिक दल र सरोकारवालाको भेलाबाट सर्वसम्मत् अथवा मतदान प्रक्रियाबाट आगामी प्रदेशसभाको अधिवेशनबाट टुङ्ग्याउने विश्वास दिलाउनुभयो ।
उहाँले प्रदेशको संरचना निर्माणका लागि यही आर्थिक वर्षभित्र जग्गाको खोजी गरी आगामी आर्थिक वर्षमा निर्माणकार्य सुरु गर्ने जानकारी दिनुभयो । मुख्यमन्त्री राईले सञ्चारकर्मीको हकहित र वृत्ति विकासका लागि मन्त्रालयमा थप बजेट विनियोजन कार्यान्वयन गर्ने बताउँदै सञ्चारकर्मीको सुझाव अनुसार प्रादेशिक सञ्चार प्रतिष्ठान विधेयकमार्फत ऐन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।