बुटवल, फागुन ३ : रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलनपार्कमा आज मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
तीन जना चढेको लु६०प ३६५२ नंको मोटरसाइकल अनियन्त्रित भई पर्खालमा ठोक्किँदा रुपन्देहीको गैडहवा गाउँपालिका–९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही स्थानका २० वर्षीय राहुल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो । उनीहरू दुवै मोटरसाइकलको पछाडि बसेका थिए ।
दुवै जनाको उपचारका क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देहीकै २१ वर्षीय विमल रानाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिकाको पाखापानीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा१ख १२८६ नंको टिप्परले आज बिहान एक साइकल यात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही गाउँपालिकाका अन्दाजी ४० वर्षीया डिला पौडेल रहेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । ठक्कर दिने टिप्परलाई नियन्त्रणमा लिइसकेको भए पनि चालक भने फरार रहेको प्रहरीले बताएको छ ।






