काठमाडौँ, फागुन २ : पर्यटन व्यवसायलाई प्रविधिमैत्री बनाउनका लागि कास्कीको पोखराका महिला पर्यटन व्यवसायीलाई डिजिटल अनलाइनसम्बन्धी तालिम प्रदान गरिएको छ । महिला पर्यटन व्यवसायी महिला मञ्च (ओटेफ)को आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवर्द्धनमा संघमा आबद्ध सदस्यलाई डिजिटल मार्केटिङ तालिम प्रदान गरिएको हो ।
तालिमको समापन समारोहमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारीले प्रविधि मैत्री व्यवसाय अहिलेको आवश्यकता भएको उल्लेख गर्दै प्रविधिको सही प्रयोगबाट व्यवसायलाई प्रवर्द्धन गर्न सकिने धारणा राख्नुभयो । उहाँले पछिल्लो समय अधिकांश पाहुनाले सामाजिक सञ्जालको प्रयोग गर्ने भएकाले त्यसबारे व्यवसायीले आफ्नो सेवासुविधा लगायतका विषयमा जानकारी दिन सके व्यवसाय प्रवर्द्धन हुँदै जाने बताउनुभयो ।
उहाँले वर्तमान अवस्थामा अधिकांशको हातमै भइराख्ने मोबाइल एपको प्रयोगबाट संसारभर व्यवसायका बारेमा जानकारी दिन सकिने र तालिमपश्चात् व्यवसायी महिलाले सामाजिक सञ्जालको प्रयोगबाट आफ्नो व्यवसायलाई मार्केटिङ गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
पोखरा होटेल सङ्घ नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटन क्षेत्रमा डिजिटल मार्केटिङसम्बन्धी तालिम अपरिहार्य हुँदै गएको र घरमै बसेर प्रविधिको प्रयोगबाट विश्वव्यापी रुपमा व्यवसाय प्रवद्र्धनका लागि सघाउ पुग्ने बताउनुभयो । नेपाल एसोसिएसन टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले सही समयमा सही निर्णयको आवश्यकता औँल्याउँदै समयानुकूल व्यवसायका लागि डिजिटल मार्केटिङको आवश्यकतामाथि जोड दिनुभयो ।
सघंका अध्यक्ष पार्वती पाण्डेले व्यवसायी महिलाको नेतृत्व व्यक्तित्व विकासका कार्यक्रमसँगै व्यावसायिक क्षमता विकासका लागि प्रविधि मैत्री तालिमको आवश्यकता महसुुस गरी तालिम प्रदान गरिएको बताउनुभयो । उहाँले प्रतिस्पर्धाको युगमा गुणस्तर सेवा प्रवाहका लागि प्रविधिको उच्चतम र सही प्रयोगको आवश्यकता र खाँचो औँल्याउनुभयो ।
दुईदिने सो तालिममा प्रशिक्षक पारस देवकोटा र उज्जल पौडेलले डिजिटल मार्केटिङका सैद्धान्तिक र व्यावहारिक प्रयोगका बारेमा प्रशिक्षण दिनुभएकोे महासचिव ममता न्यौपानेले जानकारी दिनुभयो । तालिममा सहभागी विष्णु गुरुङ एकता, माया सुवेदी र लक्ष्मी सुवेदीले अनुभव सुनाउँदै प्रविधिको युगमा व्यवसायलाई प्रविधिमैत्री बनाएर लैजानका लागि तालिम निकै फलदायी बनेको धारणा राख्नुभएको थियो ।
संस्थाका सचिव एवम् कार्यक्रम संयोजक शर्मिला न्यौपानेले प्रविधिको सही प्रयोगबाट व्यवसायलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा संस्थाका ५० जना व्यवसायी महिलाको तालिम प्रदान गरिएको जानकारी दिनुभयो ।






