सहरी पूर्वाधार विकास ऐन ल्याउने तयारी

  फागुन ०२, २०७८

काठमाडौँ, फागुन २ : सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मुलुकमा व्यवस्थित बस्ती विकास गर्ने गरी सहरी पूर्वाधार विकास ऐन ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।

नगर विकास कोषको ३४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री झाँक्रीले सहरको विकास हुँदै गर्दा व्यवस्थित बसोबासलाई प्राथमिकतामा राखेर विज्ञको सुझावमा ऐन निर्माणका क्रममा रहेको बताउनुभयो ।

मन्त्रालयमा रु पाँच लाखदेखि रु एक अर्बसम्मको योजनालाई बजेटको माग भइरहेको उल्लेख गर्दै उहाँले करिब चार महिनाको अवधिमा विभिन्न नगर विकासका लागि रु १६ अर्बको योजना दर्ता भएको जानकारी दिनुभयो ।

मन्त्रालयका सचिव मणिराम गेलालले नगरपालिकालाई वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराउन कोष क्रियाशील रहेको बताउनुभयो । प्राकृतिक स्रोत बाँडफाँड तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, नेपाल नगरपालिका महासङ्घका अध्यक्ष अशोक व्यञ्जु लगायतले स्थानीय तहको विकासमा उपभोक्ता समिति र कोषबीच समन्वयको खाँचो औँल्याउनुभयो ।

कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले चालु आवमा देशका विभिन्न ८८ नगरपालिकासँग सहकार्य गरी करिब रु पाँच अर्बको योजना कार्यान्वयनको अवस्थामा रहेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया