काठमाडौँ, फागुन १ : खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यकावासीको पानीको अभावलाई कम गर्न सरकार लागेको बताउनुभएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल०को १४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले उपत्यकावासीको पानीको अभावलाई कम गर्न वैकल्पिक व्यवस्थापनका लागि सिस्नेरी स्रोतको सम्भाव्यता अध्ययन सुरु भएको बताउनुभएको हो ।
‘मेलम्ची खोलाको पानीले मात्र उपत्यकावासीलाई पर्याप्त हुँदैन, सिस्नेरी खोेलाको पानी पनि ल्याउने तयारीमा सरकार लागेको छ,’ उहाँले भन्नुभयो । मन्त्री चौधरीले एसियाली विकास बैंकले मेलम्चीमा आएको बाढी र पहिराको क्षतिको विवरण, त्यसका कारण र स्थायी समाधानका उपायका लागि जलाधार संरक्षण गर्ने विषयमा अध्ययन गरिरहेको र त्यसको प्रतिवेदन आएपछि कार्ययोजना बनाई कार्यान्वयन गर्ने बताउनुभयो ।
उहाँले खानेपानीको समयसापेक्ष, वैज्ञानिक एवं व्यावहारिक महसुल निर्धारण गर्न मन्त्रालयले महसुल निर्धारण आयोग गठन प्रक्रिया अगाडि बढाएको उल्लेख गर्नुभयो । मागअनुसार उपत्यकामा खानेपानीको आपूर्ति गर्न नसक्नु केयुकेएलको सबैभन्दा चुनौती रहेको उहाँको भनाइ थियो ।
मन्त्री चौधरीले पानी नआएको धारामा ग्राहकलाई महसुल बक्यौता र जरिवाना छुट र मिनाह गर्ने नीति तयार गरी तुरुन्त व्यवस्थापन गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले नेपालमा उपलब्ध खानेपानीको गुणस्तरको नियमित जाँच गर्नुपर्ने आवश्यकता औँल्याउँदै उपभोक्तालाई प्रशोधित, शुद्ध र गुणस्तरीय पानी वितरण गर्न मन्त्रालयबाट विशेष अभियान सञ्चालन गरिने बताउनुभयो ।
केयुकेएल सञ्चालक समितिका अध्यक्ष तिरेशप्रसाद खत्री, मन्त्रालयका सचिव सुरेश आचार्य, केयुकेएलका निमित्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्की, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जिव विक्रम राणालगायतले काठमाडौँ उपत्यकाभित्र शुद्ध खानेपानी पु¥याउने गरी केयुकेएलले काम गरिरहेको बताउनुभएको थियो ।






