नेपालमा आजबाट रेल चल्ने, लगाइयो लिकमा हाटबजार र आवतजावतमा रोक

  फागुन ०१, २०७८

काठमाडौँ, फागुन १ : आजबाट जयनगर-कुर्था रेलमार्गमा रेल चल्ने भएको छ । तत्कालका लागि यात्रु बिनाको रेल चलाउन लागिएको हो। आजदेखि उद्घाटन नभएसम्म नियमित ‘ड्रायरन’ गर्न लागिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो ।

जनकपुरदेखि जयनगरसम्म रेल चलाउन लागिएको हो । औपचारिक रूपमा रेल उद्घाटन गरेपछि मात्रै यात्रु बोक्न थालिने झाले बताउनु भयो ।

अहिले सर्वसाधारणलाई सचेतनाका लागि रेल चलाउन लागिएको छ । दिनमा एक पटक रेल चलाउने तयारी छ ।

हाल प्रत्येक स्टेशनमा इन्टरनेट, टेलिफोन, सञ्चार सुविधालगायतका व्यवस्थापन भइरहेको पनि उहाँले बताउनु भयो ।

आजदेखि लिकमा हाटबजार र आवतजावतमा रोक लगाइएको छ । पशु तथा छाडा चौपाया रोक्न पनि सम्बन्धित पालिकामार्फत निर्देशन दिइएको छ । अनुमति बिना रेलवे लिक क्रस गरी बनाइएको बाटो पनि बन्द गरिएको छ ।

रेल सेवाको औपचारिक उदघाटनको मिति तय भएको छैन ।
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा रेल उद्घाटन गर्ने तयारी छ । फागुन ११ गतेभित्र भर्चुअल रूपमा कार्यक्रम गरी रेल उद्घाटन गर्ने तयारी छ ।

जयनगरदेखि कुर्थासम्म रेल संचालनका लागि ८४ जना कर्मचारीलाई जनकपुरमा तालिम दिएको थियो। ५८ जना नेपाली र २६ जना भारतीय कर्मचारीलाई तालीम दिएको महाप्रबन्धक झाले बताउनु भयो ।

पाइलट, को(पाइलट, सिग्नल म्यान, स्टेसन मास्टर, टिकट काट्ने र गेट प्वाइन्ट लगायतका पदमा कर्मचारी नियुक्त गरिसकिएका छन्।

प्रत्येक स्टेसनमा एकरएक टिकट काट्ने कर्मचारी, २२ गेट प्वाइन्ट, तीन स्टेसन मास्टर र सिग्नलका लागि कर्मचारी राखिएको छ ।

भारतीय कम्पनी कोंकणसँग नेपाल सरकारले ८६ करोड रुपैयाँमा दुई सेट डेमो रेल खरिद गरेको थियो। ती रेल करिब डेढ वर्षदेखि धनुषाको जनकनन्दिनी गाउँपालिकास्थित इनर्वा रेल्वे स्टेसनमा राखिएका छन् ।

भारत सरकारले झन्डै ९ अर्ब रुपैयाँ खर्चेर जयनगर–बर्दिवास खण्डमा ७२ किलोमिटर ब्रोडगेज रेल्वे लिंक तयार पार्दैछ । ३ चरणमा निर्माण कार्य भइरहेको छ ।

पहिलो चरणमा जयनगर–कुर्था ३६ किमी, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको विजलपुरासम्म १८ किमी र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिबाससम्म १७ किमी लिक तथा विभिन्न स्टेशन निर्माण हुँदैछ ।

तीमध्ये जयनगर–कुर्थासम्म ३६ किमी ब्रोडगेज तीन वर्षअघि नै तयार भइसकेको छ । बाँकी खण्डमा पनि लिक निर्माण तीव्र गतिमा भइरहेको छ ।

तपाईको प्रतिक्रिया