प्रदेशका २ का लागि चारवटा नाम र राजधानीका लागि तीन स्थान प्रस्ताव

  माघ ०२, २०७८

जनकपुर, माघ २ : प्रदेश २ प्रदेशसभाको आइतबार बसेको आठौ अधिवेशनको छैठौ बैठकमा प्रदेशको नामकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले प्रतिवेदन पेस गरेको छ ।

समितिका सदस्य प्रदेश सभा सदस्य परमेश्वर साहले सभामा सो प्रतिवेदन पेस गर्नुभएको हो । उहाँले प्रदेशको नामाकरण र राजधानीमा समितिले साझा नाममा टुङ्गो लगाउन नसकेको बताउनुभयो । प्रदेशको प्रस्तावित छ वटा नाममध्ये समितिको विभिन्न बैठक, छलफल र संवादबाट चारवटामा परिमार्जन गरेको जानकारी दिदै उहाँले राजधानीको लागि तीन वटा प्रस्ताव रहेको सभामा पेस गर्नुभयो ।

समितिले प्रदेशको नामाकरणको लागि मधेस, जानकी, मध्य मधेस र मिथिला भोजपुरा र राजधानीको लागि जनपुरधाम, बीरगञ्ज (पोखरीया नपा, सिम्रौनगढसम्म), र बीरगञ्ज नपाभरि गरी तीन वटा प्रस्ताव रहेको उहाँले जानकारी दिनुभयो । प्रदेशको नामाकरण र राजधानीको विषयमा गोप्य मतदान गर्न समितिको निर्णय रहेको उहाँले बताउनुभएको छ ।

गत पुस १३ गते पाँचौ बैठकले सभामुख सरोजकुमार यादवका संयोजकत्वमा सो समिति गठन गरेको थियो । प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव पारित हुन प्रदेशसभामा दुईतिहाइ बहुमत आवश्यक छ । तर, दलहरुबीच प्रदेशको राजधानी जनकपुरधाम कायम गर्नुपर्नेमा करिब सहमत रहे पनि नामको विषयमा फरक प्रस्तावहरु पेस भएका छन ।

यसअघि गत २०७७ चैत ५ गते प्रदेश २ को राजधानी र नामाकरणको विषयमा प्रदेशसभामा मतदान भएको थियो । त्यसबेला राजनीतिक दलहरुबीच नामकरणमा सहमति नभएपछि मतदान प्रक्रियाबाटै दुवै विषय टुङ्ग्याउने भन्दै मतदान गरेका थिए । तत्कालीन बैठकमा पनि दुईतिहाइ बहुमत नपुगेपछि राजधानी र नामकरणको प्रस्ताव पारित हुन असफल भएको थियो ।

प्रदेश सभामा कुल १०४ सदस्यमा जसपाको ३९, कांग्रेसको १९, लोसपाको १६, एकीकृत समाजवादीको १३, माओवादीको आठ, एमालेको आठ र नेपाल संघीय समाजवादी पार्टीको एक जना प्रदेश सांसद छन् ।

तपाईको प्रतिक्रिया