वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी अन्तर्राष्ट्रिय पाठशाला सञ्चालन

  माघ ०२, २०७८

भादगाउँ, पुस ८ : भक्तपुरमा वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी ११ दिने अन्तर्राष्ट्रिय पाठशाला (कार्यशाला) सञ्चालन भइरहेको छ । भक्तपुरको लिवालीस्थित ख्वप इन्जिनियरिङ कलेजमा तेस्रो नेपाल हिउँदे पाठशाला सञ्चालन भइरहेको हो । ख्वप इन्जिनियरिङ कलेजको व्यवस्थापन र नामी नामक वैज्ञानिक खोज अनुसन्धान गर्ने संस्थाको आयोजनामा पाठशाला सञ्चालन भइरहेको हो ।

पाठशालामा देशी विदेशी १२० प्रशिक्षार्थी सहभागी छन् । उनीहरु न्यूनतम स्तानक उत्तीर्णदेखि पीएचडीसम्मका छन् । उनीहरुलाई विश्वका विभिन्न देशका ३० वैज्ञानिकले प्रशिक्षण दिइरहेका छन् । गत मङ्गलबारदेखि सुरु भएको पाठशाला यही पुस १६ गते सम्पन्न हुनेछ । प्रत्येक दिन बिहानदेखि बेलुकीसम्म ११ दिनसम्म प्रशिक्षण दिइने जनाइएको छ ।

आयोजक संस्था नामीका इन्जिनियर श्रेयासा पौडेलले संस्थाले वर्षमा एक पटक यस्तो पाठशाला चलाउँदै आएको जानकारी दिनुभयो । उहाँका अनुसार यो तेस्रो वर्षको तेस्रो पाठशाला हो । यस पाठशालामा विश्वका विभिन्न वैज्ञानिकले सहभागीलाई वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी जानकारी दिई त्यसका लागि सहयोग गर्ने ई पौडेलले जानकारी दिनुभयो । वैज्ञानिक खोज अनुसन्धानमा लाग्ने व्यक्ति तथा संस्थालाई सहयोग गर्न यस्तो पाठशाला चलाउँदै आएको उहाँले बताउनुभयो ।

ख्वप इन्जिनियरिङ कलेजका ई उपप्राचार्य रवीन्द्र फोंजूले विकशित देशहरुसँगै विकासन्मुख देशहरु पनि वैज्ञानिक खोज अनुसन्धानमा अगाडि बढाउन यस्तो कार्यक्रम गरिएको जानकारी दिनुभयो । कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) नाम दिइएको यो पाठशालामा नयाँ नयाँ अनुसन्धानबारे शोधपत्र निकालिने छ । आयोजक नामी संस्थाका अनुसन्धानकर्ता दण्डपानी पौडेलले कृत्रिम बौद्धिकतालाई पाठशालामा सही ढङ्गले उपयोग गर्ने विषयमा छलफल चलाइने बताउनुभयो ।

रेडक्रस भक्तपुरमा पुनः थापा
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको सभापतिमा पुनः मनोजकुमार थापा निर्वाचित हुनुभएको छ । रेडक्रस भक्तपुरको १६ औँ जिल्ला अधिवेशनले पुनः थापालाई निर्विरोध निर्वाचित गरेको हो । त्यस्तै महिला उपसभापतिमा कृष्णेश्वरी हाडा, मन्त्रीमा परशुराम पाण्डे, उपमन्त्रीमा नारायणसुन्दर किलम्बू, महिला सदस्यमा लक्ष्मी अवाल, निर्मला खड्का र सुभद्रा काफ्ले निर्विरोध निर्वाचित हुनुभएको छ ।

अधिवेशनमा उपसभापतिसहित केही पदाधिकारी र सदस्यमा निर्वाचन भएको थियो । निर्वाचनबाट उपसभापतिमा राकेश थापा, कोषाध्यक्षमा प्रदीप केसी र उपकोषाध्यक्षमा सूर्यबहादुर खाइतु निर्वाचित हुनुभयो । त्यस्तै सदस्यमा लबकुमार कार्की, तुइलाल श्रेष्ठ, जनकप्रसाद न्यौपाने, सोमप्रसाद प्रधान, यज्ञ विक्रम थापा र किरण पौड्याल निर्वाचित हुनुभएको छ ।

तपाईको प्रतिक्रिया