बसन्त बस्नेतको उपन्यास ‘महाभारा’ सार्वजनिक

  पुष २४, २०७८

काठमाडौं, पुस २४ : पत्रकार एवम् लेखक बसन्त बस्नेतको नयाँ कृति ‘महाभारा’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंको बौद्धस्थित तारागाउँ म्युजियममा ‘महाभारा मेला’ विशेष कार्यक्रममा बस्नेतकी छोरी अनुदिता बस्नेतले पुस्तक लोकार्पण गर्नुभएको हो ।

बस्नेतको उपन्यासमाथि उपेन्द्र सुब्बाले टिप्पणी गर्नुभयो। युद्धको क्रूर समयमा हुर्केको सुन्दर प्रेम कथा नै ‘महाभारा’ रहेको सुब्बाको भनाइ छ । ‘मलाई त यस्तो लाग्छ, यो पहरामा फुलेको अम्लारी फुङ (सुनाखरी फूल) हो,’ कवि सुब्बाले भन्नुभयो ।

कार्यक्रममा लेखक बस्नेतसँग शिवानीसिंह थारुले संवाद गर्नुभयो । नेपाली भाषालाई लिम्बू लबजको व्याकरणमा मिलाएर लेखिनु नै यो उपन्यासको सबल पक्ष रहेको थारुले बताउनुभयो । पुस्तकमा लेखकले द्वन्द्वको चित्रण गर्दा सबै पक्षबीच ‘ब्यालेन्स’ मिलाएको पनि थारुको भनाइ छ ।

कोभिडका कारण सुरु भएको लकडाउनमा आफूले समय पाएको र त्यही बेला उपन्यास लेखनलाई गति दिएको लेखक बस्नेतले बताउनुभयो । ‘लकडाउनले धेरैलाई कवि बनायो । मलाई उपन्यासकार,’ उहाँले भन्नुभयो, ‘एउटा कथानक धेरै अघिदेखि हृदयमा गुम्फिइरहेको थियो, जुनसुकै बेला ल्यापटपमा तप्किन तयार । पहिलो मस्यौदा लेखिइँदा म नेपाल म्यागजिन सम्पादन गर्दै थिएँ । अग्रज आख्यानकार नारायण वाग्लेलाई एकसरो देखाएर सुझाव लिने बेलासम्म पत्रिकाको नेतृत्वबाट बाहिरिइसकेको थिएँ । मसँग उपन्यासका लागि सोच्ने पर्याप्त समय भइदियो । फुर्सदमा व्यस्त बन्न पाएँ । त्यसैले यो किताब तयार हुन सक्यो ।’

संवादसँगै रिदम कँडेल र लोचन रिजालले साङ्गीतिक प्रस्तुति दिनुभयो । कवि नवराज पराजुलीले कविता प्रस्तुत गर्नुभयो । कार्यक्रममा गायिका झुमा लिम्बू र उहाँको रैथाने समूहको प्रस्तुतिसमेत रह्यो । लिम्बुको समूहले विशेषगरी ‘महाभारा’ पुस्तकको थिममा आधारित रहेको साङ्गीतिक प्रस्तुति दिएको थियो । कार्यक्रममा टोमस कारोस्को र मनीष गन्धर्वको समेत प्रस्तुति थियो ।

प्रेम, राजनीति र धर्मको त्रिकोणात्मक द्वन्द्वमा बुनिएको महाभारा मूलतः डुक्पाको कथा हो । डुक्पा उटपट्याङ गरिबस्छ । पढ्नमा लद्दु तर ‘डुक्पा डान्स’का लागि चर्चित छ । पालाम गाएरै सोल्टिनीहरूको प्रिय छ । त्यही डुक्पा अकस्मात् प्रेमिका सुक्मतीलाई छाडेर ड्राइभरी गर्न मधेस झर्छ । नचाहेरै उसको जिन्दगीमा युद्धको छिर्का छ्यापिन पुग्छ । उसले आफ्नो निर्णयप्रति सुक्मतीको घृणा बुझ्न पाउँछ, लारुम्बाको धार्मिक दस्ता काम्राङ र माओवादीबीचको तिक्तता अनुभव गर्छ । एक दिन उसको भेट आफ्नी प्रेमिका मन पराउने तान्छोहाङसँग हुन्छ, जसले उसको बाटो नै मोडिदिन्छ । फाइनप्रिन्टले प्रकाशन गरेको उपन्यास ‘महाभारा’ पूर्वेली लबज र नेपाली साहित्यमा बिरलै देखिने सशक्त संवादको सम्मिश्रण हो ।

तपाईको प्रतिक्रिया