काठमाडौँ, पुस ४ : सर्वदलीय बैठकअघि सत्ता गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्षनेता छलफलमा जुट्नुभएकाे हाे ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का सहयोगी रमेश मल्लका अनुसार दिउँसो २ बजेदेखि सुरु भएको छलफल जारी छ । ‘सत्ता गठबन्धनको छफलफल २ बजेदेखि जारी छ’, मल्लले भन्नुभयो, ‘सङ्घीय संसद् सुचारु गर्ने विषयमा साझा धारणा बनाउने गरी छलफल भएको हो ।’
आइतबार अपराह्न ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनुभएको छ । सङ्घीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई बोलाइएको छ । त्यसअघि सत्ता गठबन्धनको आधिकारिक धारणा बनाउन बैठक बसेको हो ।
सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले, नेकपा (माओवादी केन्द्र (नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमोर्चा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतलाई बोलाइएको छ । प्रतिपक्षी दल एमालेले भने बैठकमा सहभागी नहुने बताइसकेको छ ।