प्रदेश २ मा पहिलो पटक ‘सोइजन’ खेती गरिदै

  पुष ०३, २०७८

जनकपुरधाम, पुस ३ : प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा पहिलो पटक सोइजन खेती सुरु गरिएको छ । विश्वका धेरै देशले सोइजन (मोरिङ्गा) लाई जडीबुटीका रुपमा स्वीकारेका छन् ।

विभिन्न रोगविरुद्ध प्रतिरोधी क्षमता बढाउने वहुपोषणयुक्त बुटी सोइजन (मोरिङ्गा) कोे व्यवसायिक उत्पादन तथा बिक्री वितरणकानिम्ति जनकपुरधाम उपमहानगरपालिकास्थित वडा नं. १२ को कटैया चौरीमा यो खेतीको सुरु गरिएको हो ।

यस विरुवाका विभिन्न नाम छन् । जसलाई मोरिङ्गा, ड्रम स्टिक, सितलचिनी, मुनगा र मधेशमा सोइजन नामको वनस्पति एक अत्यन्तै चमत्कारी वनस्पतिको रुपमा लिइन्छ । सोइजन (मोरिङ्गा) लाई व्यवसायीकरण गर्ने उद्देश्यले यो खेती सुरु गरिएको छ ।

सोइजन संसारको एकमात्र छिटो बढ्ने जैविक विरुवा मानिन्छ । अन्तर्राष्ट्रियस्तरमा यसलाई बुस्टरको रुपमा प्रयोग हुन थालेको विज्ञहरुको भनाई छ । यसको लोकप्रियता बढिरहेको सोइजन खेती कृषक रामदास यादवले बताउनुभयो । कृषक यादवले भन्नुभयो, “सोइजन बहुउपयोगी तरकारीजन्य वस्तु हो, यसको जरा, बोक्रा, पात, फल र फूल सबै काम लाग्छ, त्यसैले यो जैविक विरुवा हो ।” यो विरुवा मानिसका लागि मात्र नभई गाईवस्तुका लागि पनि पोषणयुक्त आहारको रुपमा प्रयोग हुने विज्ञको भनाई छ ।

बैशाख २ गते जुड शीतलको दिन प्रत्येक घरमा तरकारीको रुपमा प्रयोग गरिने सोइजनमा दूधभन्दा ४ गुण बढी क्याल्सियम, केराकोभन्दा बढी पोटासियम र भिटामिन सी को मात्रा प्रशस्त मात्रामा यस विरुवामा पाइने स्थानीयको भनाई छ । यसको पात चियाको लागि उत्तम मानिने कृषक यादवले बताउनुभयो । जरा पनि सखरखण्डझैं खान मिल्ने हुनाले यसलाई मिराकल वनस्पति पनि भन्ने गरिएको उहाँले बताउनुभयो ।

धनुषा जिल्लास्थित जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र एकल लागानीमा ७ कठ्ठा एयरपोर्ट छेउमा रहेको गुठी संस्थानको बाँझो जमिन र मत्स्य विकास केन्द्रमा रहेको पोखरीको डिलमा कृषि ज्ञान केन्द्र जनकपुरको सहयोगमा सोइजन (मोरिङ्गा) को व्यवसायिक खेती सुरु गरेको यादवले बताउनुभयो । उहाँकाअनुसार यो खेती प्रदेश २ मै पहिलो पटक हो ।

तपाईको प्रतिक्रिया