प्रधानमन्त्री देउवाले बोलाउनुभयो सर्वदलीय बैठक, एमाले अनुपस्थित रहने

  पुष ०३, २०७८

काठमाडौँ, पुस ३ : प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । संसद्मा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गर्नुभएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठक आइतबार अपराह्न ४ बजे बस्ने छ । बैठकमा संसद्मा सहभागि सबै दलका शिर्ष नेताहरूलाई बोलाइएको छ । विगत लामो समयदेखि नेकपा (एमाले) ले अवरोध गर्दै आएकाले दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ ।

शुक्रबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवासँगको भेटमा मुलुकको समसामयिक राजनीतिक विषय तथा संसद् अवरोधक खुलाउनलगायत विषयमा दलहरूबीच समान धारणा बनाउने उद्देश्यका साथ सर्वदलीय बैठक बोलाउन आग्रह गर्नुभएको थियो ।

सर्वदलीय बैठकमा एमाले नजाने
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी एमाले नजाने भएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई बोलाएकोले आफूहरू सहभागी नहुने एमालेका नेताहरूले बताएका छन् ।

संघीय संसद्मा जारी अवरोध र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे छलफल गर्नका लागि प्रधानमन्त्री देउवाले आइतबार अपराह्न ४ बजे सर्वदलीय बैठक आह्वान गरेका छन् ।

एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले मान्यता नदिएका दलहरू उपस्थित हुने बैठकमा सहभागी नहुने बताए । ‘सर्वदलीय बैठकमा को-को उपस्थित हुन्छन् भन्ने कुराले हामी उपस्थित हुने र नहुने भन्ने भर पर्छ,’ पोखरेलले भने, ‘हामीले रिकज्नाइज (मान्यता नदिएका) नगरेकाहरूलाई बोलाए त हामी कसरी उपस्थित हुने ?’

संसद् अवरोध र एमसीसीबारे सरकारको नेतृत्व गरिरहेको दल कांग्रेससँग छलफल हुनसक्ने पोखरेलले बताए । उनले भने, ‘संसद्को अवरोध र एमसीसीबारे कांग्रेससँग छलफल हुन सक्छ तर हामीले मान्यता नदिएका दलसँग छलफल हुन्न ।’

संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पनि सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने भनिएका सबै दललाई बोलाए एमाले सहभागी नहुने बताएको अनलाइन खबरमा उल्लेख छ ।

प्रतिनिधिसभाको आगामी बैठक पुस ६ गते मंगलबारका लागि आह्वान गरिएको छ । उक्त दिनको बैठकमा एमसीसी सम्झौतालाई अगाडि बढाउने सरकारको तयारी रहेको छ । अर्कोतिर एमालेले संसद्मा अवरोध जारी राखेको छ ।

आफूबाट विभाजित भएर नेकपा (एस) गठन गरेका माधवकुमार नेपाललगायत १४ सांसदलाई कारबाही गर्नुपर्ने माग राख्दै एमालेले विरोध गरिरहेको हो । उनीहरूलाई सांसद पदबाट मुक्त गर्नुपर्ने एमालेको माग छ । नेकपा (एस) भने देउवा नेतृत्वको सत्तारुढ गठबन्धनमा सहभागी छ ।

एमाले प्रधानमन्त्री देउवाले बोलाएका यसअघिका सर्वदलीय बैठकमा पनि सहभागी भएको थिएन ।

तपाईको प्रतिक्रिया