काठमाडौं, मङ्सिर २८ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले मतान्तर बढाउँदै लग्नुभएको छ ।
राष्ट्रिय सभागृहमा जारी मतगणनामा प्रधानमन्त्री देउवाले सुरूआतदेखि अग्रता लिनुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बिहान तीन हजार सात सय ७९ मत गणना हुँदा सभापति देउवाले एक हजार सात सय ९८, सभापतिका अरु उम्मेदवारहरू क्रमशः डा शेखर कोइरालाले एक हजार चार सय १३, प्रकाशमान सिंहले २८६, विमलेन्द्र निधिले २०० र कल्याण गुरूङले १९ मत प्राप्त गर्नुभएको समितिले जनाएको छ ।
सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदान सकिएलगत्तै मतपेटिका शिलबन्दी गर्ने, मुचुल्का तयार गर्ने, मतगणना आचारसंहिता तयार गर्नेलगायत आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गरिएको हो ।