काँग्रेसको १४ औँ महाधिवेशन : सभापतिकाे मतगणना राष्ट्रियसभा गृहमा, अन्यको पार्टी कार्यालय सानेपामा

  मंसिर २७, २०७८

काठमाडौं, मङ्सिर २७ : नेपाली काँग्रेस सभापतिका उम्मेदवारहरुको मतगणना राष्ट्रियसभा गृहमा हुने भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता जगन्नाथ श्रेष्ठले सभापतिका उम्मेदवारहरुको मतगणना राष्ट्रियसभा गृहमा हुने जानकारी दिनुभयो । सभापतितर्फ १२ वटा ड्रममा मत खसालिएको छ ।

सभापतिको टुंगो लागेपछि अन्य पदको मतगणना हुने उहाँले बताउनुभयो । अन्य पदको मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान भएको हो ।

सोमबार राति १० बजेसम्म नयाँ नेतृत्वको लागि मतदान भएको हो । मतदान सकिएको करिब डेढ घण्टापछि राष्ट्रियसभा गृहको तीन ठाउँमा मतगणना सुरु गर्ने तयारी समितिको छ ।

केन्द्रीय सभापतिका लागि कल्याणकुमार गुरुङ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. शेखरप्रसाद कोइराला र शेरबहादुर देउवाले उम्मेदवारी दिनुभएको थियो । महाधिवेशनमा चार हजार ४७३ जना प्रतिनिधि छन् ।

तपाईको प्रतिक्रिया