काठमाडौंको तापक्रम घट्दो क्रममा

  मंसिर २७, २०७८

काठमाडौं, मङ्सिर २७ : जुम्लाको न्यूनतम तापक्रम माइनस ४.६ डिग्री सेल्सियस पुगेको छ भने काठमाडौं उपत्यकामा समेत आज वर्षकै उच्च ठण्डी शुरु भएको छ । सोमबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस पुगेको छ । जल तथा मौसम विज्ञान विभागको मापनमा यो उपत्यकामा आज वर्षकै उच्च ठण्डी हो ।

दुई वर्ष अघि काठमाडौं उपत्यकामा शून्य डिग्री सेल्सियससम्म मापन भएको थियो । अझै यस वर्ष मौसमविद्हरुले औसतमा भन्दा बढी ठण्डी हुने पूर्वानुमान गरेका छन् । विभागले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सतर्कता अपनाउन अनुरोध समेत गरेको छ । काठमाडौं उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको विभागको तथ्याङकले देखाएको छ ।

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने जनाएको छ । काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १९ दशमलव ३ डिग्री सेल्सियस र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम २७ डिग्री सेल्सियस छ ।

तपाईको प्रतिक्रिया