भेरी अस्पतालमा कोरोनाका मात्र चार बिरामी

  मंसिर २२, २०७८

नेपालगञ्ज, मङ्सिर २२ : नेपालगञ्जस्थित भेरी अस्पतालमा अहिलेसम्मकै कम चार जना मात्र बिरामीको उपचार भैरहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

पछिल्लो समयमा सङ्क्रमित हुनेको सङ्ख्या निकै कम हुँदै गएको र कुनै दिन एक जना पनि सङ्क्रमित फेला नपर्ने गरेकाले अस्पताल पुग्नेहरु पनि घट्दै गएर शून्यमा पुग्न थालेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले बताउनुभयो ।

उहाँले हाल चार जना मात्र सङ्क्रमित बिरामी अस्पतालमा रहेको र ती मध्ये दुईजना सामान्य अवस्थाका र दुई जनालाई अक्सिजन सपोर्ट दिएर राखिएको बताउनुभयो । यो सङ्ख्या अस्पतालमा कोभिड बिरामी भर्ना सुरु हुन थालेदेखिकै सबैभन्दा कम भएको पनि फोकल पर्सन ओलीले बताउनुभयो ।

उहाँका अनुसार भेरी अस्पतालमा २०७७ साल भदौ ३१ देखि कोभिडका बिरामीहरुको उपचार सुरु गरिएको थियो । त्योभन्दा अघि खजुरास्थित क्यान्सर अस्पतालमा कोभिडका बिरामी भर्ना गरेर उपचार गर्ने गरिएको थियो । २०७७ वैशाख १९ गते पहिलो सङ्क्रमित खजुरा अस्पतालले भर्ना गरेको थियो ।

भेरी अस्पतालबाट चिकित्सकहरु पुगेर खजुरामा राखिएका बिरामीको उपचार र परामर्श गर्ने गरेका थिए । चिकित्सकहरुलाई आउजाउमा समस्या पर्ने स्थिति आएपछि खजुराको क्यान्सर अस्पतालमा रहेको कोभिड अस्पताल भेरीमा सारिएको थियो ।

दोस्रो लहरमा थेग्नै मुस्किल पर्नेगरी सो अस्पतालमा कोभिडका बिरामी भर्ना भएका थिए । कोभिड वार्ड भरिभराउ भएर गल्लीमा समेत बेड बनाएर बिरामीको उपचार गरिएको थियो । कोभिड बिरामी भर्ना हुने दर भदौदेखि घट्दै आएको अस्पतालले जनाएको छ । बिरामी भर्ना दर न्यून भएपछि भेरी अस्पतालको कोभिड वार्डमा खटिएका स्वास्थ्यकर्मीहरुलाई पनि राहात मिलेको छ ।

तपाईको प्रतिक्रिया