भक्तपुर कांग्रेस सभापतिमा कवेँद्वारा उम्मेदवारी घोषणा

  मंसिर १२, २०७८

भक्तपुर, मङ्सिर १२ : नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमिति सभापति पदमा अष्टकुमार कवेँले उम्मेदवारी दिनुहुने भएको छ । कांग्रेसका पूर्व जिल्ला सभापतिद्वय महेश श्रेष्ठ र गणेशमान चक्रधरका उपस्थितिमा शनिबार आयोजित कार्यक्रममा उहाँले जिल्ला सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

सो अवसरमा नेता कवेँले भन्नुभयो, “कांग्रेसलाई पुनः पहिलो पार्टी बनाउन मैले उम्मेदवारी दिएको हुँ । नगर प्रमुख, प्रदेश सभासद वा सङ्घीय सांसदमा म उम्मेदवारी दिन्नँ । भक्तपुर, सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमिमा नगरप्रमुख, उपपमुख र वडा तथा नगरपालिकामा कम्तीमा तीनवटा वडामा विजयी सुनिश्चित गराउने छु । यसका लागि मेरो उम्मेदवारी हो ।”

कार्यक्रममा कांग्रेस पूर्व जिल्ला सभापतिद्वय श्रेष्ठ र चक्रधरले १३औँ महाधिवेशनमा गरेको सहमति र सहकार्य वर्तमान जिल्ला सभापतिले पालना गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, कांग्रेस जिल्ला सचिव उद्धव सिलवाल, भक्तपुर क्षेत्र नं २ का नवनिर्वाचित क्षेत्रीय सभापति भेषबहादुर कार्कीलगायतले पार्टीलाई बलियो बनाउन एकता र सहकार्य आवश्यक रहेको बताउनुभयो । यसअघि कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले पुनः सभापतिको उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया