कोरोनाको नयाँ संस्करणका कारण बेलायतद्वारा ६ मुलुकसँगको उडान सेवा बन्द

  मंसिर ११, २०७८

लण्डन, मङ्सिर ११ : बेलायतले कोरोनाभाइरसको नयाँ संस्करण पत्ता लागेको समाचार सार्वजनिक भएसँगै विभिन्न छ मुलुकसँगको हवाइ सेवा बन्द गरेको छ । यही शुक्रवार मध्याह्न १२ बजेदेखि ती देशहरूलाई खतरापूर्ण मुलुकको सूचीमा राखेर ती आवतजावत बन्द गर्ने निर्णय गरिएको बेलायतका स्वास्थ्यमन्त्री शाजिद जावेदले जानकारी दिनुभयो ।

ओमिक्रोन नाम दिइएको नयाँ संस्करणको कोरोना भाइरस भेटिएको पुष्टि भएका र भेटिन सक्ने खतरा रहेका देशहरुबाट हुने उडान बेलायतमा प्रतिबन्ध लगाइएको हो । नयाँ भाइरस आफ्नो देशमा नभित्रियोस भन्ने उद्धेश्यले बेलायतले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो र इस्वाटीटीसँगका सबै उडानर स्थगित गरेको हो ।

अधिकारीहरुका अनुसार अहिलेसम्म सो नयाँ भाइरस दक्षिण अफ्रिका, हङकङ र बोत्स्वाना गरी तीन देशमा कुल ५९ जनामा मात्रै पुष्टि भएको छ । अहिलेसम्म पुष्टि भएका मध्ये सबैभन्दा खतरापूर्ण भइरस भएकाले र अहिले खोपले पनि काम गर्न नसक्ने भएकाले बेलैमा उच्च सतर्कता अपनाउनु परेको अधिकारीहरुको भनाइ छ।

त्यसैगरी पछिल्लो १० दिनभित्र ती देशमा गएर फर्किएका यात्रुलाई पनि बेलायत प्रवेशमा रोक लगाइएको छ । तर बेलायती नागरिकलाई भने उच्च सतर्कताका साथ परीक्षण गराएर क्वारेन्टिनमा राखेर मात्रै गन्तव्यमा जान पाउने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया