बन्दाबन्दीपछि बाँकेको होटल व्यवसाय फस्टाउँदै

  मंसिर १०, २०७८

नेपालगञ्ज, मङ्सिर १० : कोरोना महामारीले भएको बन्दाबन्दीले दुई वर्ष ठप्प भएको बाँकेको होटल व्यावसाय फस्टाउन थालेको छ । भारतीय र तेस्रो देशका पर्यटकको आगमन ह्वात्तै बढ्न थालेपछि यहाँको होटल व्यवसाय फस्टाउन थालेको व्यावसायीहरुले बताएका छन् ।

पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्ज होटलमा लगानी थप गर्ने र स्तरोन्नती गर्नेक्रम पनि शुरु भएको छ । नेपालगञ्जमा तारे होटलहरुको संख्या बढ्दै गएको छ । सो क्रममा होटल सिटी प्यालेसले २५ करोडको लगानी थपेर भौतिक संरचनालाई अत्याधुनिक बनाउँदै चार तारेको मान्यता पाएको छ ।

नेपालगञ्ज–पोखरा हवाई उडानसँगै मुगुको रारा र अन्य जिल्लाका पहाडी क्षेत्रमा पनि निजि विमान कम्पनीले उडान शुरु गर्न थालेपछि होटलको भौतिक संरचनामा सुधार गरेर गुणस्तरीय, आधुनिक सुविधायुक्त सेवा बनाइएको सञ्चालक लोकेन्द्र अर्यालले बताउनुभयो ।

चारतारे मान्यता पाएसँगै सिटी प्यालेसले आफ्नो स्वरुपमै परिवर्तन गरेको बताउनुभयो । अर्यालका अनुसार होटलमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटक होटेलको साजसज्जा, अत्याधुनिक सुविधा, आरामदायी एवम् हस्पिटालिटीले आकर्षित बनाइरहेको छ ।

होटलमा सात तले भवनमा ६५ वटा कोठाहरु रहेका छन् भने थप ३० वटा कोठासहितको भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । होटलमा एक हजार जना व्यक्ति अट्ने बैंकट हल, झण्डै २०० जना अट्ने दुई वटा सेमिनार हल, रेष्टुरेण्ट, सुनास्टिम जाकुजी, हेल्थ क्लब र स्पासहितको स्नानको ब्यवस्था रहेको सञ्चालक अर्यालले बताउनुभयो ।

आन्तरिक तथा बाह्य पर्यटकका लागि पश्चिम नेपाल घुम्न आउने पर्यटकका लागि नेपालगञ्ज गेट–वेका रुपमा रहेको छ । नेपालगञ्जबाट मानसरोवर, से–फोक्सुण्डो ताल, रारा, स्वर्गद्वारी, बाँके बर्दिया राष्ट्रिय निकुञ्ज, दैलेख तथा सुर्खेत धार्मिक एवं पर्यटकीयस्थलको अवलोकन, भ्रमण र दर्शन गर्न सहज र सरल हुने भएकाले पनि बाँकेमा होटल ब्यावसाय फस्टाउँदै गएको व्यवसायीहरुको बुझाई छ ।

पछिल्लो समय नेपालगञ्ज क्यासिनो हबका रुपमा पनि विकसित हुँदैगएकाले छिट्टै सिटी प्यालेसमा पनि क्यासिनो सञ्चालन गरिने सञ्चालक अर्यालले बताउनुभयो । क्यासिनोका लागि भारतीय पर्यटक आउने र उनीहरु यस क्षेत्रको पर्यटकीय तथा धार्मिक क्षेत्रको अवलोकन गरेर फर्कने हुनाले पनि होटल व्यवसायमा सहयोग पुगेको होटल सञ्चालकहरुको भनाई छ ।

क्यासिनाका कारण होटल व्यवसाय सञ्चालनमा ठूलो टेवा पुगेको होटलका सञ्चालकहरुले बताएका छन् । यहाँका होटल तथा पर्यटन व्यवसायलाई भारतीय पर्यटकले बढी धानेको व्यवसायीहरुको बुझाई छ ।

तपाईको प्रतिक्रिया