सर्वोच्च अदातलमा १० इजलास तोकियो, ४ न्यायाधीश नियमित काममा फर्किए

  कार्तिक ३०, २०७८

काठमाडौं, कात्तिक ३० : सर्वोच्च अदातलमा आज मङ्गलबारका लागि १० इजलास तोकिएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले दुई एकल र आठ संयुक्त इजलास तोक्नुभएको हो ।

सर्वोच्चका अनुसार आज प्रधानन्यायाधीश जबराले आफ्नो लागि कुनै इजलास तोक्नुभएको छैन । आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।

चार न्यायाधीश नियमित काममा फर्किए
सर्वोच्च अदालतका ४ जना न्यायाधीश नियमित काममा फर्किएका छन् । न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा नियमित काममा फर्किएका हुन् । उनीहरुले बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य मुद्दाहरु पनि हेरेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मंगलबार ८ वटा संयुक्त इजलास र २ वटा एकल इजलाश तोकेका छन् । न्यायाधीशद्वय प्रकाश ढुंगाना र कुमार चुडालले भने बन्दीप्रत्यक्षीकरण मात्रै मुद्दा हेरेका छन् ।

सर्वोच्चका अन्य १३ जना न्यायाधीशहरु नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनसँगको छलफलमा छन् । प्रधानन्यायाधीश जबराको राजीनामा माग राख्दै नेपाल बारले आन्दोलन गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया