मुख्यमन्त्री राईले आज प्रदेशसभाबाट विश्वासको मत लिनुहुने

  कार्तिक ३०, २०७८

विराटनगर, कात्तिक ३० : मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभाबाट विश्वासको मत लिदै हुनुहुन्छ । मुख्यमन्त्रीले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव कात्तिक २८ गते नै प्रदेशसभा सचिवालयमा दर्ता गराइसक्नु भएको छ । प्रदेशसभाबाट विश्वासको मत लिनुभन्दा दुई दिन अघि प्रस्ताव दर्ता गरिसक्नु पर्ने संसद नियमावलीको व्यवस्था अनुसार मुख्यमन्त्रीले आइतबार प्रस्ताव दर्ता गराउनुभएको थियो ।

‘विश्वासको मत लिने तयारी स्वरुप सोमबार सत्ता गठबन्धन दलहरुको बैठक बसेको थियो । बैठकले सत्तारुढ दलहरुमा आउन सक्ने सम्भावित असन्तुष्टिलाई सम्बोधन गर्ने प्रयत्न पनि गरेको छ । बैठकले सत्तागठबन्धनको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस संसदीय दलको नेता राजीव कोइरालाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको छ । संयन्त्रले सरकारसँग नीतिगत र गठबन्धनलाई मजबुद बनाउने विषयमा समन्वय गर्ने बताइएको छ ।

यसैगरी काँग्रेसकै सांसद शेखरचन्द्र थापाको नेतृत्वमा सरकारको साझा कार्यक्रम तय गर्न कार्यदल पनि बनेको सत्ता गठबन्धनले जनाएको छ । न्यूनतम् साझा कार्यक्रम बनाउने कार्यदलमा माओवादी सांसद धिरेन शर्मा, एकीकृत समाजवादीका सांसद राजन राई, जसपाबाट रामचन्द्र तुम्बा र अशोक चेम्जोङ सदस्य रहनुभएको छ । कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त हुनुभएका राईले कात्तिक २३ गते नै विश्वासको मत लिने तयारी गरेको भएपनि तिहार र छठ पर्वका कारण त्यस दिन बोलाइएको प्रदेशसभा बैठक सूचना टाँसगरी कात्तिक ३० गतेका लागि सारिएको थियो ।

प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा हाल ९२ सदस्य कायम छन् । नेकपा माओवादी केन्द्र परित्याग गरेपछि ताप्लेजुङका सांसद टंक आङ्बुहाङको पद रिक्त भएको थियो । मुख्यमन्त्री राईलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको गठबन्धनका ५० सांसदको समर्थन रहेको छ । मुख्यमन्त्री राईले गठबन्धनको सबै मत कायम रहने विश्वास व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया