दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली सुरु

  कार्तिक २४, २०७८

काठमाडौँ, कात्तिक २४ : संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा तैनाथ हुन प्रमुख सेनानी सरोज राणाको नेतृत्वमा चन्दननाथ गणको आठौं डफफाको पहिलो शान्ति सेना टोली मङ्गलबार त्यसतर्फ प्रस्थान गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, चार्टर फलाइटमार्फत गएको उक्त टोलीमा २१६ जना नेपाली शान्ति सैनिक काठमाडौंँबाट मङ्गलबार राति मिसन ईलाकातर्फ प्रस्थान गरेका हुन् ।

हाल त्यहाँ तैनाथ गोरखबहादुर गण शान्ति सेनाको सातौं डफफालाई बदली गर्न उक्त टोली गएको हो । विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका लागि नेपाली सेना विभिन्न संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा रही महत्वपूर्ण योगदान पु¥याउदै आइरहेको छ ।    
    
विश्वमा शान्ति सैनिकको सङ्ख्या धेरै पठाउने मुलुकको सूचीमा नेपाल दोस्रो वरियतामा छ । नेपाली शान्ति सैनिकलाई विश्वका विभिन्न ४३ शान्ति मिसनमा परिचालित भई काम गरिसकेको अनुभव छ । हाल विश्वका १२ स्थानमा तैनाथ राष्ट्रसङ्घीय मिसनमा २०० महिला सैनिकसहित पाँच हजार २२९ नेपाली शान्ति सैनिक परिचालित छन् ।    
    
कोभिड–१९ सङ्क्रमण जोखिमबीचमा पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीतिअनुरुप सेनाले अदलीबदलीका समयमा सम्पूर्ण सुरक्षा सतर्कता अपनाउँदै आएको छ । 

तपाईको प्रतिक्रिया