नेपालगञ्ज विमानस्थलमा सीता एयरको जहाज बँदेलसँग ठोक्कियो

  कार्तिक १६, २०७८

नेपालगञ्ज, कात्तिक १६ : नेपालगन्जबाट हुम्ला, सिमकोटका लागि उड्न लागेको  सीता एअरको जहाजसँग तीनवटा बँदेल ठोक्किएका छन् । बँदेल ठोक्किदा ठूलो दुर्घटना हुनबाट जहाज जोगिएको छ भने ठोक्किएका बँदेल टुक्रा टुक्रा भएका छन् ।

नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख सुवास झाका अनुसार मङ्गलबार बिहान करिब ७ बजेतिर चालक दलका सदस्यसहित १७ जना सवार उक्त जहाज हुम्लाका लागि उड्ने तयारीमा थियो । धावन मार्गमा गुडिरहेका बेलामा जहाजको चक्कामा समस्या आएको जस्तो अनुभूति भएपछि पाइलटले जहाज उडाउन रोकेका थिए ।

जहाज रोकेर हेर्दा घटनास्थलमा तीन वटा बँदेल टुक्रा टुक्रा परेको अवस्थामा फेला परेको प्रमुख झाले बताउनुभयो। बँदेलको शरीरका भाग धावन मार्गभरी छरिएका कारण केहीबेर नेपालगन्ज विमानस्थलको उडान बन्द गरिएको थियो ।

अहिले विमानस्थलको धावन मार्गमा रहेको रगत पखाल्ने काम भइरहेको त्यहाँ खटिएका एक सुरक्षाकर्मीले बताए । उक्त जहाजलाई अहिले पार्किङ गरेर राखिएको छ भने यात्रु आफ्नो घरतिर लागेको झाले बताउनुभयो । विमानस्थलमा धेरै झाडी र बुट्यान भएका कारण बेला बेलामा बँदेल जहाजसँग ठोक्किने घटना हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया