माओवादी केन्द्रको वडा, पालिका र प्रदेश तहको कार्यतालिका संशोधन

  कार्तिक ०२, २०७८

काठमाडौं, कात्तिक २ : सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन सम्बन्धि वडा र पालिका तहको पूर्वनिर्धारित कार्यतालिका संशोधन भएको छ ।

कोटेश्वरस्थित माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सोमबारदेखि जारी स्थायी कमिटीको बैठकले टोल सम्मेलनको म्याद कात्तिक २७ गतेसम्म, वडा सम्मेलनको म्याद मंसिर ४ गतेसम्म थप गरिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो ।

यसैगरी, गाउँ, नगरपालिका र महानगरपालिको सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म सारिएको उहाँले बताउनुभयो । यससँगै संगठन सम्मेलन सम्बन्धि १४९ जनाको सल्लाहकार समिति र ९९ जनाको जेष्ठ कम्युनिष्ट मञ्च गठन भएको उहाँले जानकारी दिनुभयो ।

मंगलबार बसेको माओवादी केन्द्रको बैठकबारे जानकारी दिनुहुँदै पार्टी प्रवक्ता महराले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विष्णुप्रकाश श्रेष्ठको अध्यक्षतामा निर्वाचन आयोग, पेसल कुमार पोखरेलको संयोजकत्वमा २५ सदस्यीय लेखा आयोग, टंग राईको अध्यक्षतामा २५ सदस्यीय अनुशासन आयोग र १७५ जनाको विशेष समिति गठन भएको बताउनुभयो ।

उहाँले राष्ट्रिय सम्मेलनको मिति भने यथावत् रहेको बताउनुभएको छ । माओवादी केन्द्रको स्थायी कमिटीको बैठक कात्तिक ४ गते विहान ८ बजे पुनः बस्नेछ ।

तपाईको प्रतिक्रिया