समाजलाई लोकतान्त्रिकरण गर्ने जिम्मा काँग्रेसको : पौडेल

  असोज २५, २०७८

भरतपुर असोज २५ : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली समाजलाई लोकतान्त्रिकरण गर्ने जिम्मा काँग्रेसको भएको बताउनुभएको छ । नेपाली काँग्रेस भरतपुर महानगर समितिको आयोजनामा सोमवार भरतपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले पहिला काँग्रेस आफू लोकतान्त्रिक बन्दै समाजलाई लोकतान्त्रिकरणको बाटोमा अभियान काँग्रेसको भएको स्पष्ट पार्नुभयो ।

“नेपाली काँग्रेसले नेपाली समाजलाई लोकतान्त्रिककरण गराउनु छ । नेपाली समाजलाई लोकतान्त्रिककरण गराउने जिम्मा भएको काग्रेसमा आफै भित्र लोकतान्त्रिकरण हुने कि नहुने ? आफू भित्र स्वेच्छाचारी हुने कि नहुने ? पहिला आफू लोकतन्त्रिक भए मात्रै जनतालाई लोकतन्त्रको शिक्षा दिन सकिने”, पौडेलको भनाई छ । काग्रेसको १४ आंै महाधिवेशन नजिकदै गएका बेला कार्यकर्ताले नेताको मूल्याङ्कन गर्ने बेला आएको पनि उहाँले बताउनुभयो ।

“कार्यकर्ताले नेताको मूल्याङ्कन गर्ने हैसियत राजनितीमै राख्ने हो । १४ औं महाधिवेशन नजिकदै गर्दा कार्यकर्ताकालागि पनि परीक्षाको घडी आएको छ”, उहाँको थप भनाइ थियो, “ कार्यकर्ताले निर्णय गर्दै गर्दा पनि काँग्रेसलाई लोकतान्त्रिक बनाउने कि नबनाउने भन्ने बारेमा निर्णय गर्ने बेला आएको छ । लोकतन्त्रका पहरेदारका पक्षमा उभिने बेला आएको छ ।” काँग्रेसलाई काँग्रेस भन्दा इतर शक्तिबाट चलाउने प्रयास भैरहेको आरोप लगाउँदै उहाँले यसमा कार्यकर्ताको खवरदारी जरुरी रहेको बताउनुभयो ।

“विपी कोइरालाले भने जस्तै भूइफूट्टा बर्गबाट काँग्रेसलाई विचलित गर्ने कोशिस अहिले काँग्रेसमा भैरहेको छ । काँग्रेसलाई गैर काँग्रेसी चरित्रतर्फ धकेल्ने कोशिष भैरहेको छ”, पार्टी नेतृत्वप्रति उहाँको गम्भिर आरोप छ । उहाँले लोकतन्त्रको अस्तित्व रक्षाकालागि पनि काँग्रेसको एकता जरुरी रहेको धारणा पनि राख्नुभयो । उहाँ भन्नुहुन्छ, “काँग्रेसको रक्षाकालागि काँग्रेसको एकता जरुरी छ । लोकतन्त्रको रक्षाकालागि आवश्यक हो । एकता एकता मात्रै भनेर पनि हुँदैन त्यो एकता लोकतन्त्रको खतिर हुनुपर्छ । लोकतान्त्रिक संस्कारका खातिर हुनुपर्छ र काँग्रेसी संस्कारका पक्षमा हुनुपर्छ ।”

काँग्रेसको अबको अभियान भ्रष्टचार विरुद्धमा हुनुपर्ने धारणा राख्दै उहाँले भ्रष्टचार अन्तकालागि अहिलेदेखि नै लाग्नुपर्ने, सुशासन र विधि र पद्धतिकालागि लाग्नुपर्ने बेला आएको धारणा पनि राख्नुभयो । विजया दशमीको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम नगर सभापति चित्रसेन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया