तराई–पहाड–हिमालको सम्बन्ध जोड्न सभापतिमा उम्मेदवारीः उपसभापति निधी

  असोज २५, २०७८

ढल्केवर, असोज २५ : नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले हिमाल, पहाड र तराइवासीबीचको भावनात्मक सम्बन्ध जोड्न नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदारी दिने पुनः दोहो-याउनुभएको छ ।

धनुषा निर्वाचन २ मा आयोजित विजयादशमीको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान तथा कार्यकर्ता भेलामा उपसभापति निधीले सो कुरा बताउनुभयो । हिमाल र पहाडका साथीहरु नेपाली काँग्रेसको सभापतिमा मलाई हेर्न चाहनुभएको छ उहाँले भन्नुभयो ।

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनमा आफूलाई सभापतिमा समर्थन गर्न समेत उहाँले आग्रह गर्नुभयो । नेता निधीले भन्नुभयो, “केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिँदैछु । निर्वाचन क्षेत्रबाट समर्थनका लागि सबैसँग अनुरोध गर्न आएको छुँ, सभापति बनेर देश र जनताको सेवा गर्ने इच्छा छ, तपाईहरुको समर्थन चाहेको छुँ ।”

१४ औँ महाधिवेशनमा पार्टी सभापतिका लागि आफूलाई सहयोग गर्न शेरबहादुर देउवासँग आग्रह गरेको र सभापति देउवाले आफूलाई सहयोग गर्ने वचन १३ औँ महाधिवेशनकै बेला दिनुभएको उहाँले बताउनुभयो ।

सभापति देउवासँगको कुराकानीबारे उपसभापति निधिले कार्यकर्ताहरूलाई सुनाउँदै भन्नुभयोे, “सबै नेताहरूकाबीच यो मेरो अन्तिम पटक हो, अब तपाईं नै हो भन्नुभएको छ । त्यसैले यसपाली सभापति देउवाले मलाई सहयोग गर्नुहुन्छ ।”

उपसभापति निधीले अबको पाँच वर्षपछि पार्टीको नेतृत्व युवापुस्ताले गर्ने दावी गर्नुभयो । अब आउने महाधिवेशनमा विश्वप्रकाश शर्मा र गगन थापालगायत युवापुस्ताको दावेदारी रहने भएकोले अबको पाँच वर्षपछि युवापुस्ताले नेतृत्वमा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया