रात्रिकालिन व्यवसायलाई पुरानै शैलीमा फर्काउन सरकारले कार्यदल बनाउँछ : गृहमन्त्री

  असोज २१, २०७८

काठमाडौँ, असाेज २० : गृहमन्त्री बालकृष्ण खाणले कोभिड–१९ को चपेटामा परेको पर्यटन र रात्रिकालीन व्यवसायलाई पुरानै शैलीमा फर्काउन सरकारले कार्यदल बनाउने बताउनुभएको छ । गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि र सम्बद्ध व्यवसायीसमेत सदस्य रहेको कार्यदल बनाएर खोल्दा पर्ने सकारात्मक र नकारात्मक असरबारे बुझाउने प्रतिवेदनका आधारमा अघि बढ्ने गृहमन्त्री खाणले बताउनुभयो ।

उपत्यकामा पर्यटनसँग सम्बन्धित व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीसँग मन्त्रालयमा भएको बैठकमा मन्त्री खाणले व्यवसायको सम्मान राष्ट्रको सम्मान भएको भन्दै पर्यटन र रात्रिकालीन व्यवसायलाई सम्मानित बनाउनुपर्ने बताउनुभयो । उहाँले पर्यटन व्यवसायीले भोगेको पीडाबारे सरकार जानकार रहेको भन्दै व्यवसायीको पीडामा सरकार संवेदनशील रहेको बताउनुभयो । कुनै पनि नेपालीको अकालमा मृत्यु हुन नदिनु सरकारको पहिलो प्राथमिकता रहेको भन्दै त्यसमा ख्याल गर्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो । उहाँले आफू पर्यटन व्यवसायीको पक्षमा रहेको भन्दै कसरी पूर्णरूपमा पर्यटन व्यवसायलाई पहिलाको जस्तै अवस्थामा फर्काउन सकिन्छ भन्ने विषयमा विश्लेषण गरेर अगाडि बढ्ने बताउनुभयो ।

बैठकमा गृहसचिव टेकनारायण पाण्डेले व्यवसायलाई सुरक्षित बनाउने दायित्व व्यवसायीको भएको भन्दै त्यसमा सरकारले सहयोग गर्ने बताउनु भयो । जनजीवनलाई सामान्यीकरण गर्न सरकार तयार रहेको भन्दै उहाँले त्यसमा व्यवसायीले निर्धारित मापदण्ड प्रयोग गरेर सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले पर्यटन व्यवसाय खुलेपछि बन्द नहुनेगरी सजगता अपनाउन पनि आग्रह गर्नुभयो ।

 काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले अहिलेसम्म पर्यटन व्यवसाय खुल्दा स्वास्थ्यको मापदण्ड पालनामा समस्या देखिएको भन्दै त्यसलाई सच्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले व्यवसाय, पर्यटक र शान्ति सुरक्षालाई व्यवस्थित बनाउन ध्यान दिनुपर्ने बताउनुभयो । बैठकमा दोहोरी व्यवसायी संघका विनोद श्रेष्ठ, ठमेल पर्यटन विकास परिषद्का राजुमान डङ्गोल, व्यवसायी मिलन कार्की, रात्रिकालीन व्यवसायी सङ्घका दिनेश श्रेष्ठ, डान्सबार सङ्घका राजकुमार लामाले व्यवसाय बन्द हुँदा आफूहरूले झेल्नुपरेका समस्याबारे अवगत गराउनुभएको थियेा ।

तपाईको प्रतिक्रिया