काठमाडौं, असोज १३ : प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको सर्वदलीय बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग थप छलफल गर्ने निष्कर्ष निकाल्ने कानुन तथा संसदीय मामिला मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संसदलाई निर्बाधरुपमा एवम् मर्यादित ढङ्गबाट सञ्चालन गर्न संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई बैठकमा आमन्त्रण गरिएको भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने उपस्थित नभएको उहाँले बताउनुभयो । यसबाट एमाले वार्ता र संवादबाट भाग्न खोजेको कार्कीले बताउनुभयो ।
नागरिकका जनजीविकासँग प्रत्यक्षरुपमा जोडिएका विधेयकहरु पारित गर्न आवश्यक रहेको र यस विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग थप सकारात्मक वार्ता अगाडि बढाउने निष्कर्ष बैठकले निकालेको उहाँले बताउनुभयो ।