संसदमा अवरोध कायमै, प्रतिनिधिसभा बैठक असोज १४ सम्म स्थगित

  असोज ११, २०७८

काठमाडौं, असोज ११ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभाको आजको बैठकमा पनि अवरोध कायमै राखेको छ । बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गर्नुभयो ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको काम कारवाही अघि बढाउनका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । सो अवसरमा उहाँले अदालतमा विचाराधीन विषयमा सदनमा छलफल हुन नसक्ने विषय प्रतिनिधिसभा नियमावलीमा व्यवस्था रहेको स्मरण गराउनुभयो ।

सभामुख सापकोटाको आग्रहपछि पनि एमालेले अवरोध कायमै रहेको अवस्थमा सदनको काम कारवाही अघि बढेको छ । एमालेले अधिवेशन प्रारम्भ भएदेखि नै आफ्नो पार्टीले कारवाही गरेका १४ सांसदको कारवाही प्रक्रिया अघि बढाउन माग गर्दै संसद्मा अवरोध जारी राखेको छ ।

प्रतिनिधिसभा बैठक असोज १४ सम्म स्थगित
प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको सोमबार दिउँसो बसेको बैठकमा विनियोजन विधेयक राष्ट्रिपतिबाट प्रमाणीकरण भएका र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भएको जानकारी दिइएको थियो ।

बैठक करीब छ मिनेट चलेकाे थियाे । गत भदौ २२ गतेदेखि शुरु भएको प्रतिनिधिसभा असोज १४ गतेसम्मको लागि स्थगित भएको सभामुख अग्नि सापकोटाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया