कांग्रेस ललितपुर महानगर महाधिवेशन आज, श्रेष्ठ र धाख्वाको छुट्टा–छुट्टै प्यानलबीच प्रतिस्पर्धा हुने

  असोज ११, २०७८

काठमाडौं, असोज ११ : सत्तारुढ दल नेपाली काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशन भदौ १८ गतेदेखि औपचारिक प्रक्रिया सुरु भएसँगै सोमबार ललितपुर महानगर महाधिवेशन सुरु भएको छ ।

काँग्रेसको संशोधित कार्यतालिका अनुरुप असोज ९ गते गाउँ–पालिका अधिवेशन हुने भएपनि तयारी अभावका कारण ललितपुर महानगरको महाधिवेशन आज हुन गइरहेको महानगरका निर्वाचन संयोजक सुरेशकुमार घिमिरेले बताउनुभयो ।

ललितपुर महानगर महाधिवेशनमा पाँच सय २० जना क्रियाशील सदस्यहरु छन् । ललितपुरको २ वडाहरुको क्रियाशील सदस्यहरुको नामावली प्रकाशन गरिसकिएको अवस्थामा दिउँसो १ बजेदेखि मतदान प्रक्रिया सुरु हुने घिमिरेले जानकारी दिनुभयो ।

ललितपुर महानगर महाधिवेशनमा प्रतिद्वन्द्वी प्रतिस्पर्धाको आधारमा प्रमुख पदहरुमा मात्र निर्वाचन हुने अवस्था आए आज नै मतगणना एवम् मतपरिणाम आउने उहाँले बताउनुभयो ।

ललितपुर महानगरपालिका महाधिवेशनमा सभापतिमा गणेश भक्त श्रेष्ठ र सुधान धाख्वाको दुई छुट्टा–छुट्टै प्यानलमा प्रतिस्पर्धा गर्दैछन् । संस्थापन पक्षका धाख्वाको प्यानलमा उपसभापतिहरुमा रामकुमारी लिम्बु, नरेन्द्र महर्जन, सचिवहरुमा सुुनिल कुमार थापा (पशुपति) र राजु ताम्राकार यसैगरी सह–सचिवहरुमा निरन्जन केसी र कुमार श्रेष्ठ छन् ।

श्रेष्ठको प्यानलमा उपभापतिहरुमा राजिव जोशी, निशा महर्जन, सचिवहरुमा राजिव जोशी र निशा महर्जन, सह–सचिवहरुमा राम महर्जन र प्रकाश महर्जन रहेका छन् ।

ललितपुरमा क्रियाशील सदस्यतासम्बन्धि कुनै विवाद नरहेको दाबी ललितपुर जिल्ला सभापति मदनबहादुर अमात्य गर्नु हुन्छ । सर्वसम्मतबाट नेतृत्व चयन प्रजातान्त्रिक हुन नसक्ने उहाँको विचार छ । ललितपुर महानगर महाधिवेशनमा हुन गइरहेको प्रतिस्पर्धा स्वभाविक रहेको उहाँ बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया